दशैंका लागि नयाँ नोटको सटही आजबाट (सूची सहित)

new note

  काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरी राजधानीसहित देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो सुविधा असोज १७ गतेसम्म उपलब्ध हुनेछ ।


राष्ट्र बैंकले उपत्यकाभित्र अन्य बैंकहरुबाट पनि ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ भने उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट मात्रै नयाँ नोट वितरण गर्ने जनाएको छ । उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

त्यसैगरी बाहिरी जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित