सिनेमामा प्रकाश खोज्ने निर्देशक

ddd

 

सिनेमा कसैका लागि बिशुद्ध मनोरंजन मात्र हुन सक्छ कसैका लागि यो कुनै मुद्दालाई बहसमा लग्ने माध्यम बन्न सक्छ अनि कसैलाई प्रोपोगन्डा चलाउने साधन पनि हुन सक्छ । ब्यक्तिको सोच र रुचि अनुसार फिल्मको उपयोग हुन्छ । भारतीय सिनेमाको १०० बर्षे इतिहासलाई हेर्ने हो भने पनि यस्तै लाग्छ ।

विविधताका मामिलामा बलिउड निकै परिष्कृत छ । बलिउडमा एकातिर बिशुद्ध व्यावसायिक निर्देशक पनि छन् भने अर्कोतिर सिनेमालाई समाज र कलासँग जोड्ने निर्देशक पनि छन् ।

राकेश ओमप्रकाश मेहरा दोश्रो पक्षमा ज्यादा पर्छन् । ७ जुलाई १९६३ मा दिल्लीमा जन्मीएका राकेश ओमप्रकाश मेहेराले प्रारम्भिक शिक्षा एअर फोर्स बाल भारती स्कुलमा गरेका थिए । यिनले श्रीराम कलेज अफ कमर्सबाट स्नातक गरेका छन् । सिनेमा निर्देशन भन्दा पहिले यिनी चर्चित एड निर्देशक थिए । र त्यसभन्दा पनि अघि यिनी भ्याक्युम क्लिनरको सेल्समेन थिए । मेहेराले कुनै समय दिल्लीमा गार्मेन्ट पनि चलाएका छन् ।

राकेश ओमप्रकाश मेहेराले टोयोटो, अमेरिकन एक्स्प्रेस, पेप्सी र कोकोकोला जस्ता चर्चित कम्पनीका लागि एड बनाएका थिए । यिनले बनाएको कोकको एडमा भिडमा उभिए बापत आजका चर्चित फिल्ममेकर अनुराग कश्यपले ४०० रुपैयां पाएको एक अन्तरवार्तामा बताएका छन् । थुप्रै एड फिल्म बनाएपछि यिनले सन् २००१ मा पहिलो फिचर फिल्म अक्स बनाएका थिए ।

अमिताभ बच्चन र मनोज बाजपेयीको अभिनय रहेको फिल्मलाई समिक्षकले राम्रो भने पनी दर्शकले उति रुचाएनन् । महंगो बजेटमा बनाईएको यो फिल्मले पैसा त कमाएन् तर केही प्रतिष्ठित अबार्ड भने जितेको थियो, जसमा फिल्मफेयर अवार्ड पनि छ । सन् २००६ मा आएको उनको दोस्रो फिल्म रंग दे बसन्तीले भने यिनलाई सबै दियो । पैसा र प्रसिद्धि खुबै कमाएको यो फिल्मबाट राकेश ओमप्रकाश मेहेराले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफियर अवार्ड पनि जिते । मण्डल कमिशनको रिपोर्टको बिरोध स्वरूप बनेको यो फिल्म दशककै उत्कृष्ट फिल्ममा पर्दछ । मण्डल कमिशनको रिपोर्ट भोट बैंकमा आधारित छ भन्ने मेहेरा मान्दछन् ।

13

रंग दे बसन्ती पछि यिनले दिल्ली ६ बनाए । भेनिस फिल्म फेस्टिभलमा अफिसियल सेलेक्ट भएको यो फिल्म बक्स अफिसमा भने कत्ती पनि चलेन । यिनी बलिउडका यस्ता फिल्ममेकर हुन जसको सिनेमा बक्स अफिसमा नचले पनी पुरस्कार पाउंछन् । अक्सबाट शुरु भएको सिलसिला दिल्ली ६मा पनि दोहोरियो । दिल्ली ६ फ्लप भएपनि यस सिनेमाले नर्गिस दत्त राष्ट्रिय एकता अवार्ड पाएको छ ।

निर्माताका रूपमा यिनको पहिलो सिनेमा तीन थे भाइ हो जुन सुपर फ्लप भएको थियो । कहिले तल कहिले माथी पुग्ने यिनको नियति पनि बढो विचित्रको छ । यसबारे उनी भन्छन् ‘यसैले त मलाई अझ जान्न र बुझन सिकाईरहेको हुन्छ ।’

हिट र फ्लप बराबर देखेका मेहराले फिल्म भाग मिल्खा भाग बनाउन अनेक हण्डर बेहोरको थिए । दिल्लीको पुस्तैनी फ्ल्याट, बैंकमा रहेका शेयर सबै बेचेर फिल्म बनाउन कस्सिएका राकेश तब संकटमा परे जब उनले थाहा पाए मिल्खा सिंहको बारेमा फिल्म बनाउन एउटा भीड नै तयार भएको छ र उनको कथाको स्वीकृति लिन करोडौंमा मोल मोलाई हुंदैछ ।

अनौपचारिक रुपमा त उनले पनि मिल्खा सिंहको परिवारसंग सल्लाह गरेका थिए तर ठोस केही थिएन । उनि असमन्जसमा परे फिल्म नबनाउं आन्तरिक रुपमा लगानी भैसकेको छ बनाउं भने राईटस किन्न करोडौं अफर गर्न सक्ने अवस्था छैन । दुविधा वीच मै आफना गीतकार मित्र प्रसुन जोशीलाई लिएर मेहेरा मिल्खा सिंहको परिवार भेट्न पुगे । भित्र कोठामा मिल्खा सिंहको परिवार सरसल्लाहमा बसे ।

जन्ममिती ठ्याक्कै एकिन नगरिएका धावक मिल्खा सिहको जन्म मुजफ्फगर, पन्जाब प्रान्त हाल पाकिस्तानमा पन्जाबी राजपुत परिवारमा भएको हो । भारत बिभाजनका दौरान भएको हत्याहिंसाको चपेटामा यिनको परिवार पनि परेको थियो । यिनले आफ्नै कलिला आँखा अधि आफ्नो परिवारको बीभत्स हत्या भएको देखेका थिए । दिदी सङ भागेर दिल्ली आएका मिल्खाले अनेक दुख र हण्डर खाए । उनको जिवनमा त्यतिखेर परिवर्तन आयो जब उनी भारतीय सेनामा भर्ती हुन पुगे।र त्यहीँबाट शुरु भयो उनको नयाँ अध्याय धावकका रूपमा । कमन्वेल्थ र २ एसियन गेम्सका स्वर्णधारी यिनको दौडने कला देखेर तत्कालीन पाकिस्तानी जनरल अयुब खानले यिनलाई फ्लाइङ सिखको उपमा दिएका थिए । यिनै महान खेलाडीको जिवनकथा हो फिल्म भाग मिल्खा भाग ।

आफ्नो जिवनकै मार्मिक दृश्य राकेश ओमप्रकाश मेहेराले त्यतिखेर भोगे जब मिल्खा सिंह आफैले उनलाई भनेछन् ‘मिल्खा सिंह पैसाका लागि कहिलै भाग्दैन् ।’ ‘मलाई तिमी माथी पूरा बिश्वास छ तिमी मलाई १ रुपैयाँ देउ र जाउ मेरो बारेमा फिल्म बनाउ ।’ अब मेहेराको खुशीको कुनै सिमाना रहेन । उनले त्ंयही प्रण गरे ‘अब लागेपुगे सम्म गर्छु ।’

14

मिल्खा सिंहको भूमिकाका लागि उनले फरहान अख्तरलाई लिए । यसबाट हठात् भएका केही निर्माताहरुले उनको साथ छोडे । उनलाई धेरैले सो भूमिकाका लागि बिग स्टार राख्न सुझाएका थिए तर उनले मानेन् । फरहान अख्तरमै उनले मिल्खा सिंह देखिसकेका थिए ।

निकै आर्थिक मुश्किलको सामना गर्दै राकेशले फिल्म रिलिज गरे । फिल्मको पहिलो शो हेर्न मिल्का सिंह आफै आएका थिए।मेहरा असमन्जसमा थिए । आफ्नो काममा विश्वास थियो तर संगै डर पनि त थियो । फिल्म सकियो । आँखाभरी आँसु बोकेर मिल्खाले खल्तीमा हात हाले र राकेशको हातमा त्यही एक रुपैयाँको ढ्याक राख्दै भने ‘स्याबास, तिमीले वचन पूरा गयो ।’ मेहरा थचक्कै कुर्सीमा बसे।उनका हरेक दुखले सुख पाइसकेको थियो ।

मिल्खा सिंह पछि यिनले मिर्जया बनाए जुन चलेन । यसपछि सानो बजेटमा खुला शौच बारे फिल्म बनाएका छन् । आफुलाई मन परेको बिषयमा फिल्म बनाउने यिनको सनक देखेर आमिर खानले यिनलाई सोधेका थिए ‘तिमी किन संधै त्यही सन्की घोडामा सवार हुन्छौ जुन कहिले कावुमा हुन्छ त कहिले तिमिलाई लडाउँछ ।’ उनको जवाफ थियो यसैमा ‘मजा जो छ ।’ आफनै बिबेकलाई बारबार प्रश्न गर्न रुचाउने यी निर्देशक, मार्टिन स्कोर्सेस, फ्रान्सिस फोर्ड, अकिरा कुरोसावा, बोब विइस जस्ता बिश्व निर्देशकको फिल्म हेर्न रुचाउँछन् ।

राकेशलाई हिन्दीमा चाहिँ बिमल रोय र गुरुदत्तको सिनेमाहरु मन पर्छन् । बलिउड फिल्म इन्ड्स्ट्रीको इतिहास बारेको डकुमेन्ट्रीका दुई मध्यका एक निर्देशक रहेका राकेशको सो डकुमेन्ट्री क्यान्समा अफिसियल सेलेक्ट भएको थियोे । हाल फिल्म तुफान सकेर बसेका राकेशले यो फिल्ममा पुन एकपटक फरहान अख्तरसँगै काम गरेका छन् । बक्सिंगको खेलमा आधारित यो फिल्म फरहान अख्तरकै ब्यानर एक्सल एन्र्टटेन्मेन्ट र राकेश ओमप्रकाश मेहरा फिल्मस्ले बनाएको हो । बक्स अफिस नियमलाई बाल दिने यी निर्देशकको एउटै सुत्र छ ‘पहिले आफुलाई पूरा भरोसा गर यार ।’

प्रतिक्रिया

सम्बन्धित