विप्लवका उपत्यका ब्यूरो इन्चार्ज गायक माइला लामा पक्राउ

maila lama

maila lama

  काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता माइला लामालाई पक्राउ गरेको छ । काभ्रेबाट काठमाडौं आउँदै गर्दा उनी पक्राउ परेको महाशाखा प्रमुख एसएसपी सहकुल बहादुर थापाले बताए ।

विप्लव समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज लामालाई शनिबार राति पक्राउ गरिएको हो । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर पक्राउ गरिएको एसएसपी थापाले बताए ।

लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेको महाशाखाले जनाएको छ । लामा आफ्नै समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा त्यहाँ पुगेका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् । मध्यराति पक्राउ गरेर उनलाई टेकु पुर्‍याइएको छ ।


उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । महाशाखा स्रोतका अनुसार पक्राउ परेका लामालाई नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ । लामामाथि राज्यविरुद्धको कसूर अपराधअन्तर्गत पनि कारबाही हुने जनाइएको छ ।

फागुन १० गते शुक्रबार नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।


काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि उनी पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।

पक्राउ परेका लामा गायक र संगितकार समेत हुन् । उनले सयौं क्रान्तिकारी गीत गाएका छन् भने कतिमा संगीत भरेका छन् । उनले संगीत भरेका धेरै गीतहरुमध्ये विप्लवको शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

प्रतिक्रिया

सम्बन्धित