बूढीगण्डकी डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलन शुरु, जग्गापछि घरगोठ र फलफूलको पनि मुआब्जा

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।
तथ्याङ्क सङ्कलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । ‘बुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङ्क सङ्कलन शुरु भएको छ’, उनले भने–‘दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।’
डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत सङ्कलन गर्ने उहाँले बताउनुभयो । लगत सङ्कलनमा जाने प्राविधिकलाई आयोजनाले दुई पटकसम्म तालीमसमेत प्रदान गरेको एकाइ प्रमुख कार्कीले जानकारी दिए । मोबाइल एप्लिकेसनमार्फत डुबान क्षेत्रमा प्राविधिकले तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले भने–‘त्यसका लागि मोबाइल एप्स कसरी चलाउने भनेर प्राविधिकलाई विशेष तालीम प्रदान गरेर ‘फिल्ड’मा खटाएका छौँ ।’
आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार÷चार प्राविधिकलाई तालीम दिएको एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । भवनबाट खटिएका प्राविधिकले घरगोठको संरचनाको तथ्याङ्क सङ्कलन गर्ने तथा वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको तथ्याङ्क सङ्कलन गर्ने उनले बताए ।
त्यस्तै कृषिज्ञान केन्द्रबाट खटिएका प्राविधिकहरूले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्याङ्क सङ्कलन गरेर ल्याउने एकाइ प्रमुख कार्कीको भनाई छ । छिटो र विश्वसनीय ढङ्गले तथ्याङ्क सङ्लकनका लागि सजिलो होस् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको उनले बताए ।
फिल्डमा खटिने प्राविधिकले डुबान क्षेत्रका प्रभावितको घरघरमै पुगेर तथ्याङ्क सङ्कलन गर्ने जानकारी गराउँदै उनले भने–‘प्राविधिकले प्रत्येक घरगोठ, फलफूल, निजी जग्गामा पर्ने बोटबिरुवाको तस्वीरसहित तथ्याङ्क सङ्कलन गरी कार्यालयमा ल्याएलगत्तै मुआब्जा निर्धारण गरी रकम वितरणको काम शुरु हुन्छ ।’ आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा वितरणको काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको उनले जानकारी गराए ।
चालू आर्थिक वर्षको चैत महीनाभित्र जग्गाको मुआब्जा वितरण सकेर चालू आर्थिक वर्षभित्र घरगोठ फलफूलको पनि मुआब्जा वितरण सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको एकाइका प्रमुख कार्कीको भनाई छ । आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमीन डुबानमा पर्ने आयोजनाले जनाएको छ ।

First project initiated by Jagsul Foundation (Journey to faith)

477 whales die in ‘heartbreaking’ New Zealand strandings

Government is committed to creating investment-friendly environment: PM …

प्रतिनिधिसभा संसद भंग, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा (विज्ञप्तिसहित)

Organic methods to control Root Knot Disease of Vegetables in Nepal

Lions club of Kathmandu new waves year 2020/21 presented yearly program …

Lions club of Kathmandu new waves under 325 A2 organized tree Plantation…

प्रतिक्रिया