लुम्बिनी विकास कोषमा मन्त्री अधिकारीले पुरस्कृत गरे भ्रष्टलाई

rabindraghotalaa

rabindraghotalaa

 काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति विवादमा तानिएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले कोषको उपाध्यक्षमा अवधेशप्रसाद त्रिपाठी र कार्यकारी निर्देशकमा विष्णुप्रसाद ढकाललाई नियुक्त गरेको छ ।

 त्रिपाठीलाई यसअघि शेरबहादुर देउवा सरकारले पनि कोषमा उपाध्यक्ष बनाएको थियो । देउवाले नियुक्त गरेका त्रिपाठी नेकपाका लागि पनि फिट भएका छन् । कार्यकारी निर्देशक नियुक्त भएका सहसचिव ढकाल पाल्पाका प्रमुख जिल्ला अधिकारी हुन् । उनको जागिर अवधि एक ढेड महिना बाँकी छ । उनी निजामती सेवामा अति भ्रष्ट कर्मचारीका रुपमा चिनिन्छन् । ललितपुरको स्थानीय विकास अधिकारी (एलडीओ) हुुँदा ढकालले ढुंगा गिटी र क्रसरवालासँग मिलेर करोडौं भ्रष्टाचार गरेपछि धेरै विवादमा परेका थिए ।

क्रसरवालासँग मिलेर सरकारी वन नै सखाप पारी ढुंगागिटी उत्खनन् गर्न दिएको आरोप उनीमाथि लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेपछि उनले ठूलै रकम खर्चेर उन्मुक्ति पाएको चर्चा त्यतिबेला चलेको थियो । देउवा सरकार बहिर्गमनको अन्तिम अन्तिममा लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक बनाउनका लागि सूचना नै निकालिएको थियो । तर अदालतमा मुद्दा परेको बहानामा तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेले रोके ।

 तत्कालीन फोरम लोकतान्त्रिकको भागमा परेको पर्यटन मन्त्रालयमा मन्त्री जितेन्द्र देव थिए । पार्टी अध्यक्ष बिजय गच्छदारले सचिव न्यौपानेलाई बोलाएर कोषको कार्यकारी निर्देशकका लागि दबाब दिए । तर सचिव न्यौपानेले अनेक बहाना गर्दै नियुक्ति गर्न नमानेपछि उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरियो ।

अनुगमन कार्यालयका सचिव कृष्णप्रसाद देवकोटालाई पर्यटनमा ल्याइएको थियो । पर्यटन सचिव देवकोटाले जनमत गुमाएको सरकारले भनेअनुसार नगर्ने अडान लिएपछि २०७४ फागुन २ मा पनि सचिव गोपी मैनालीलाई सरुवा गरी लुम्बिनी विकास कोषमा नियुक्ति गर्न खोजियो । तर मैनालीले पनि मानेनन् । अरु सचिवले पनि नमानेपछि सरकारबाट बिदा हुनु अघिल्लो दिन पनि नियुक्ति गरी करोडौं पचाउने गच्छदार र देवको सपना चकनाचूर हुन पुगेको छ ।

 तर नेकपाको सरकारका आशालाग्दा मन्त्री अधिकारीले कांग्रेस कार्यकर्ता त्रिपाठी र सहसचिव ढकाललाई नियुक्त गरी गच्छदार पथ नै अंगालेको टिप्पणी हुन थालेको छ । त्रिपाठीले पहिला आरजु देउवालाई रकम बुझाएर नियुक्त भएका थिए । जीवनभर सरकारी कर्मचारीका रुपमा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका ढकालले पनि ठूलो रकम भेटी चढाएर नियुक्त भएको चर्चा छ । ढकाल यसअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पनि भएकाले नेकपाका महासचिव बिष्णु पौडेलसँग पनि राम्रो सम्बन्ध छ । (दृष्‍टिबाट )

प्रतिक्रिया

सम्बन्धित