चन्द्रागिरिमा सामुदायिक नर्स कार्यक्रम : घरघरमै स्वास्थ्य सेवा

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। यस किसिमको सेवा अन्तर्गत स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण), परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट, सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतना लगायतका सेवा प्रदान भइरहेको छ।

नगर प्रमुख घनश्याम गिरीले सामुदायिक नर्स कार्यक्रम मार्फत घरघरमै स्वास्थ्य सेवा एवं परामर्श प्रदान गरिरहेको जानकारी दिए । नगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचार सेवाको पहुँचमा ल्याउन स्क्रिनिङ तथा व्यवस्थापनकार्यलाई तीब्र बनाएको छ।

नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा स्वास्थ्य शिविरनै सञ्चालन गरी स्क्रिनिङ तथा व्यवस्थापनकार्यलाई अगाडि बढाइरहेको छ। हालसम्म चन्द्रागिरि , चन्द्रागिरि , चन्द्रागिरि १५ मा स्वास्थ्य शिविर सम्पन्न भइसकेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भु कुमार महतोले जानकारी दिए ।

चन्द्रागिरि २ बाडभञ्ज्याङ स्थित स्वास्थ्य चौकीमा शनिबार सञ्चालित शिविरमा २१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। चन्द्रागिरि ७ स्थित शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको स्वास्थ्य शिविरमा १८२ जना तथा चन्द्रागिरि १५ स्थित तीनथाना स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा १८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। सो शिविरमा मुटु जाँच तथा साधारण जाँच पनि गरिएको थियो।

नगरप्रमुख गिरीले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रमलाई उच्च महत्व दिँदै नगरका सबै वडाका स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदान भइरहेको कुरा बताए ।

नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा पनि सञ्चालनमा आउने छ। वि सं २०७६ बैशाख २८ देखि चन्द्रागिरि४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र वर्थिङ सेन्टर सहितको सेवा प्रदान गरिरहेको छ। अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित