मयंकले फाले आइपिएलको यस सिजनकै तिब्र बल !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तिब्रगतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् ।गएराती सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आइपिएलको यस सिजनको अहिलेसम्मको तिब्र बल फालेर चकित पारेका छन् ।

उनले १५६.७ किमी/घण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा छिटो बल थियो भने यस सिजनको अहिलेसम्मकै तिब्र थियो । 
उनले ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र रजत पाटीदारलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए । यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी/घण्टाको गतिमा थियो, जुन आइपिएल इतिहासको चौथो सबैभन्दा छिटो बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले २०२२ मा १५७.३ किमी प्रति घण्टा तिब्र बल फालेका थिए । भारतका उमरान मलिकले २०२२ सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यस अघि मयङ्कले पञ्जाबविरुद्धको डेब्यु खेलमा १५५.८ किलोमिटर/घण्टाको गतिमा बल फालेका थिए ।यस सिजनमा २ खेल मात्र खेलेका मयंकले अहिलेसम्म ६ विकेट लिएका छन् भने दुवै खेलमा प्लेयर अफ द म्याच समेत बनेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित