प्रचण्डलाई कार्यकारी भूमिका : नेकपाभित्र अधिकार प्रयोग गर्न सहज छैन

oliandprachanda

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच स्पष्ट कार्याधिकार तोकिएपनि यो अधिकार कसले प्रयोग गने भन्नेमा अन्योल नै छ ।  अध्यक्ष ओली यस अवधिको प्रतिनिधिसभामा पूरा कार्यकाल प्रधानमन्त्री हुने बाटो खुलेको छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको स्पष्ट भूमिका पाएका छन् ।

पार्टी एकताअघि नै ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भनी पाँचबुँदे लिखित सहमति भएको सार्वजनिक भएको थियो । पार्टी एकताको १८ महिनापछि त्यो सहमति परिवर्तन भएको छ । एउटा अध्यक्षले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्षले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने निधो गरेका छन् । 

पछिल्लो निर्णयले प्रचण्डलाई रचनात्मक ढंगले कार्यकारी भूमिका निर्वाह गर्ने अवसर दिएको छ, उनीसामु पूर्वएमाले पंक्तिलाई रिझाएर लैजानुपर्ने अवस्था छ।

यसअघि पार्टीभित्र दुई फरक अध्यक्षले फरक–फरक जिम्मेवारी लिनुपर्ने आवाज पनि उठेको थियो । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य माधवकुमार नेपालले पनि वेलावेला ‘एक व्यक्ति स् एक जिम्मेवारी’ हुनुपर्ने बताउँदै आएका थिए । सचिवालयको पछिल्लो निर्णयले पार्टीभित्रैको आवाजलाई सम्बोधन गरेको छ ।

पार्टी एकतापछि नेकपाले द्विअध्यक्षको व्यवस्था गरेको थियो । बुधबारको निर्णयअघि नेकपामा दुवै अध्यक्षको समान कार्यकारी अधिकार रहेको बताइएको थियो भने नयाँ निर्णयले प्रचण्डलाई कार्यकारी अधिकार दिएको घोषणा गरेको छ । यो निर्णयले प्रचण्डलाई रचनात्मक ढंगले कार्यकारी भूमिका निर्वाह गर्ने अवसर दिएको छ । उनीसामु पूर्वएमाले पंक्तिलाई पनि रिझाएर लैजानुपर्ने अवस्था छ ।  बाहिर भाषण गरेजस्तो प्रचण्डलाई नेकपाभित्र सहज छैन उनी कत्तिको सक्षम हुनेछन् भन्ने परीक्षण अब हुनेछ ।

प्रचण्डलाई घोषित रूपमा कार्यकारी अधिकार दिइएको भए पनि उनी एक्लैले पार्टीभित्र निर्णय गर्ने अवस्था भने छैन । 

Comments

Top