साधारण तारेखमा छुटे सांसद साह

pramod shah_1

  काठमाडौं । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाले आज उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए ।

साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो । काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो ।

बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको म्याद दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, धनुषाले म्याद सकिन दुई दिन बाँकी छँदै तोडफोड मामिलामा सबै अनुसन्धान सकेको थियो । प्रहरीले बुझाएको अनुसन्धानको फाइल र सांसद साहसित लिइएको बयानलाई आधार बनाएर बिहीबार अदालतमा मुद्दा पेस गरिएको थियो ।

सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।

विमानस्थलको रन वेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र बिरामी यात्रुबारे जानकारी गराउँदा विमानस्थल र एयरलाइन्सका कर्मचारीले वास्ता नगरेको भन्दै सांसद साहले लात हानेर बुद्ध एयरको काउन्टरको सिसा फुटाइदिएका थिए ।

मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं आउन लागेका जनकपुरका शौखिलाल चौधरीको समस्याबारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले कुनै वास्ता नगरेपछि तोडफोड गर्नुपरेको सांसद साहले बताएका छन् ।

तीन घण्टासम्म विमान ढिलो हुँदा बिरामीलाई खानेपानी समेत उपलब्ध नगराएको र पटक–पटक विमान बारे जानकारी माग्दा वेवास्ता गरेको साहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित