जुम्बाप्रतिको आकर्षण बढ्दो छ

ruksana

  आम मानिसहरुको व्यस्तता बढेसँगै खानपानलाई व्यवस्थित गर्न नसक्दा मानिसमा अनेक प्रकारका स्वास्थ्य सम्बन्धि समस्याहरु देखा पर्दछन् । जटिल दैनिकी, शारिरीक व्यायामप्रति आम मानिसहरुको बुझाई सकारात्मक हुन नसक्नु जस्ता कारणले मानिसको रोगसँग लड्न सक्ने क्षमतामा दिन प्रतिदिन कमी आइरहेको विभिन्न अध्ययनले पनि देखाएको छ । तर, पछिल्लो समय नेपालमा व्यायामप्रतिको आकर्षण बढ्दै गएको बताउँनुहुन्छ जुम्बा अन्तर्राष्ट्रिय प्रशिक्षक रुक्साना उदास । सन् २०१२ सालबाट विद्यार्थीको रुपमा जुम्बामा प्रवेश गर्नुभएका उदासले सन् २०१४ बाट प्रशिक्षको रुपमा काम गर्दै आउनु भएको छ । मलेसिया र सिंगापुरबाट प्रशिक्षण लिएर जुम्बा इन्स्ट्रक्टर नेटवर्क (जीन) को सदस्यता लिनुभएकी उदासले अहिले नेपालका विभिन्न क्लवहरुमा जुम्बा सम्बन्धि प्रशिक्षण दिंदै आउनु भएको छ । जुम्बा, स्ट्रोङ्गवाई जुम्बा, एरोविक्स, निर्वाण फिटनेश, बुटक्याम्प र योगाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र पाउन सफल उदाससँग यूनाइटेड पोष्टका लागि कुमार भण्डारीले गरेको कुराकानी :

० जुम्बा भनेको के हो ?

जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो संगितसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरिरलाई स्वस्थ राख्न र शरिरको मोटोपना घटाउन सहयोग पु¥याउँछ ।

० जुम्बा जतिबेला पनि गर्न सकिन्छ ?
– जुम्बा निश्चित समयमा नै गर्नुपर्छ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छैन । तर, म चाहिं विहान अथवा बेलुका नै गर्न सल्लाह दिन्छु । किनकी दिउसो खाना अथवा खाजा खाएको बेलामा व्यायाम गर्न सकिदैन ।

० नेपालमा जुम्बा संस्कृती प्रवेशको बारेमा केही बताइदिनुस् न ।
– मलाई थाहा भए अनुसार नेपालमा सन् २००९ बाट जुम्बाको औपचारिक शुरुवात भएको हो । नेपालमा जुम्बाको शुरुवात गर्ने श्रेय डोमा बज्राचार्यलाई जान्छ । अन्तर्राष्ट्रिय रुपमा चाहिं जुम्बा कोलम्बियाबाट शुरुवात भएको मानिन्छ । बेटोपेरेजलाई जुम्बाको शुरुवातकर्ताको रुपमा लिइन्छ ।

० जुम्बा गर्दा हाम्रो शरिरलाई के कस्तो फाइदा हुन्छ ?
– सामान्यतय जुम्बालाई शरिरको सम्पूर्ण भागको व्यायामको रुपमा लिइन्छ । यसलाई एक प्रकारको कार्डियो भन्दा पनि फरक पर्दैन । मैले अघि पनि भने जुम्बाले शरिरमा भएको बोसोमा मात्रालाई सन्तुलनमा राख्न धेरै ठूलो भूमिका खेल्छ । त्यतिमात्र होइन जुम्बाले मानिसलाई मानसिक रुपमा स्वस्थ रहन पनि मद्दत पु¥याउँछ ।

० तुलनात्मक रुपमा जुम्बामा महिलाहरु धेरै आकर्षित भएको पाइन्छ नि ?
– केही समय अघिसम्म जुम्बालाई शारिरीक व्यायाम भन्दा पनि डान्सको रुपमा मात्रै हेरिन्थ्यो । त्यहि भएर महिलाहरु बढि आकर्षित थिए । तर, समयक्रमसँगै यसको बुझाईमा पनि परिमार्जन भएको छ । अहिले भने यसलाई डान्स भन्दा पनि म्युजिकसँगै गरिने शारिरीक व्यायाम भन्ने बुझाई स्थापित भएको कारणले गर्दा महिला पुरुष दुबैको आकर्षण उत्तिकै छ ।

० जुम्बा र अन्य व्यायाममा के फरक छ ?
– उद्देश्यका हिसावले जुम्बा र अन्य किसिमका कुनै पनि व्यायाम शारिरीक तन्दुरुस्तिका लागि नै गरिन्छ । गर्ने तरिका मात्रै फरक हो ।

० जुम्बामा चाहिं के–के गर्नुपर्छ ?
– जुम्बाका चारवटा फर्म हुन्छन् । मेरिङ्गे, साल्सा, कुम्बिया र रेगेटर । यी चारवटा फर्मलाई मिलाएर शुरुमा वार्मअप र अन्तिममा कुल डाउन गरी करिव एक घण्टा व्यायाम गराइन्छ । जस अन्तर्गत कार्डियो, डान्स, बलिउड्सलगायतका पर्दछन् ।

ruksana 1

० नेपालमा जति पनि जुम्बा प्रशिक्षण गराउने संस्थाहरु छन्, तिनिहरुले दिने प्रशिक्षण सबै एउटै हुन्छन् त ?
– सबैभन्दा महत्वपूर्ण कुरा त नेपालमा जुम्बालाई नियमन गर्ने आधिकारीक संस्था नै छैन । जुम्बा इन्स्ट्रक्टर नेटवर्क (जीन) को सदस्यता लिएकाहरुले मात्रै यसको प्रशिक्षण दिन पाउनु हुन्छ । तर, सबै संस्थामा अन्तर्राष्ट्रिय स्तरको जीनको सदस्यता लिएका व्यक्तिहरु नभएको हुँदा कुनै एउटा संस्था स्थापना गरेर इन्स्ट्रक्टर बनाई प्रशिक्षण दिइरहेका पनि छन् । त्यसले गर्दा यसको गुणस्तरमा प्रश्न उठ्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरको इन्स्ट्रक्टरहरु र नेपालमा युट्युव हेरेर इन्स्ट्रक्टरले दिने प्रशिक्षण एउटै हुन्छ त ? यहाँ त युट्युव हेरेर प्रशिक्षण दिने संस्कार विकास भइरहेको छ । त्यस्ता इन्स्ट्रक्टरहरुलाई जुम्बाको प्रशिक्षण दिंदा हुने शारिरीक चोटपटकहरुको कसरी सामान्य उपचार गर्नु पर्छ भन्ने बारेमा सामान्य जानकारी समेत हुँदैन । जसले शरिरलाई फाइदा भन्दा पनि धेरै वेफाइदाहरु पुर्याइरहेको छ ।

अर्को कुरा जुम्बाका वरिष्ठ प्रशिक्षक भन्न रुचाउनेहरुले नै भर्खरै सिक्दै गरेकाहरुलाई इन्स्ट्रक्टर बनाउँदा पनि समस्या आएका छन् । यस्तो कार्य बन्द नहुने हो भने जुम्बाप्रतिको आकर्षण दिन प्रतिदिन घट्नेमा दुईमत छैन ।

० तपाईको आफ्नै क्लव पनि छ कि ?
– छ, मैले स्टार जेनिक्स फिटनेस एण्ड डान्स स्टुडियो नामक संस्था सञ्चालन गरिरहेको छु । जहाँ जुम्बा, डान्स र योगा सिकाइन्छ । अहिलेचाहिं म भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुरकै उत्कृष्ट फिटनेस क्लव वेभ फिजिकल फिटनेसमा जुम्बा प्रशिक्षण दिंदै आएको छु ।

० आम सर्वसाधरणहरुलाई के भन्नुहुन्छ ?
– जुम्बा सबै उमेर समुहका व्यक्तिहरुले गर्न सक्ने एक किसिमको व्यायाम हो । बच्चाहरुका लागि गराइने जुम्बालाई किड्स जुम्बा भनिन्छ भने उमेर ढल्केकाहरुलाई गराइने जुम्बालाई गोल्ड जुम्बा भनिन्छ । त्यसैले म सबैलाई शारिरीक र मानसिक स्वास्थताका लागि जुम्बा गर्नका लागि आग्रह गर्दछु ।

मानिसको स्वास्थ्य पनि समाजसँग जोडिएको हुन्छ । समाज पूर्णरुपमा स्वस्थ्य भएपछिमात्रै राष्ट्र पनि स्वस्थ हुन्छ । त्यसैले म सबैलाई व्यायाम गर्न सुझाव दिन्छु ।

Comments

Top