इतिहासमै पहिलोपटक पशुपतिको सम्पत्ति सार्वजनिक, एक अर्ब २९ करोड नगद , ९ किलो सुन र १८ हजार राेपनी जग्गा

pashupatinath

  काठमाडौं । इतिहासमै पहिलोपटक पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी रहेको जानकारी गराइएको हो ।

सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा कोषमा रहेको नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो।

यद्यपी प्रतिवेदनमा मन्दिरको मुल ढुकुटीमा रहेको सुन, चाँदी तथा जवाहरतको पूर्ण विवरण छैन । सर्वोच्च अदालतले मुल ढुकुटी खोल्न रोक लगाएकाले अध्ययन समितिले २०१९ सालदेखि ७५ सालसम्म अभिलेखित विवरणलाई नै आधार बनाएको छ ।

प्रतिवेदनअनुसार हिन्दु धर्मालम्बीहरुको आस्थाको मुख्य धरोहर पशुपति मन्दिरसँग ९ किलो २७६.६४ ग्राम सुन, ३१६ किलो ५८६ ग्राम चाँदी मूल ढुकुटी अभिलेखबाट देखिन आएको छ ।

त्यस्तै एक अर्व २९ करोड ३८ लाख ३१ हजार २१५ नगद बैंकमा मौज्दात छ । जसमध्ये एक अर्वको अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषको व्याजबाट प्राप्त हुने रकम समाज सेवामा खर्च गरिदै आइएको पनि कोषले जनाएको छ ।

कोषको बम्बे ढुकुटीको भाडा वर्तन अभिलेख र गुठीतर्फको १९५ गुठीको सुन, चाँदी तथा जिन्सीको हिसाब अझै प्राप्त हुन सकेको छैन ।

त्यसैगरी कोषको कुल १८ हजार ३४२ रोपनी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ । पशुपतिनाथको स्वामित्वमा दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी ४ आना ३ पैसा, साविक लागतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २ सय ३१ रोपनी १० आना एक दाम छ ।

त्रिभुवन विमानस्थल र गल्फ कोर्समा रहेको ११६१ रोपनी, १४ आना ३ पैसा जमिन तथा तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जमिन पनि पशुपतिनाथको हो ।

त्यस्तै कोषले विभिन्न समयमा अधिग्रहण गरेर ल्याएको १५ सय ५ रोपनी २ आना दुई पैसा तथा सरकारले २०४६ सालमा उपलब्ध गराएको ५३४ रोपनी जमिन पनि पशुपतिनाथसँग छ ।

पशुपतिनाथको स्वमित्वमा ११९ वटा पाटी, पौवा, सत्तल छन् भने गुठी संस्थानतर्फ १९५ गुठी अन्तर्गत ११ हजार २६१ रोपनी जमिन पनि छ । जसमध्ये २३१ रोपनी जग्गा लगत दर्ता प्रमाणित हुन बाँकी छ ।

२०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन। नगद रकम भने विभिन्न बैंकमा जम्मा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित