आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबलाई

3 star

3 star

 विजय नेपाल /पोखरा।  रुस्लान थ्रीस्टार क्लबले १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथको शिकार बनाउँदै साविक उपविजेता थ्रीस्टारले आहारारामा पाँचौ पटक उपाधि चुम्न सफल भएको हो ।
विजेता थ्रीस्टारले उपाधिसहित ८ लाख १ हजार र उपविजेता आर्मीले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।  

 पोखरा रंगशालामा शनिबार फाइनलमा आर्मीको उपाधि सपना चकनाचूर पार्न सडनडेथमा थ्रीस्टारका मिक्छेन तामाङको पेनाल्टी प्रहार निर्णायक बन्यो । विपक्षी आर्मीका विकास खवासको प्रहार भने थ्रीस्टारका कीपर एलन न्यौपानेले उत्कृष्ट सेभ गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल समान १ र अतिरिक्त ३० मिनेटको खेल समान २ गोल हुँदा खेल टाइब्रेकरमा पुगेको थियो ।

 टाइब्रेकरमा समान ४ गोलपछि खेल निर्णयार्थ सडनडेथको सहारा लिनुपरेको हो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जित धिमाल, रुपेश केसी, क्याप्टेन विक्रम लामा, अनन्त तामाङको प्रहार गोलमा परिणत हुँदा सुनिल राईको प्रहार क्रसबारमा लागेर बाहिरिन पुगेको थियो ।

 आर्मीका लागि कीपर विकास कुथुको प्रहार कीपर एलन न्यौपानेले सेभ गर्दा क्याप्टेन भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको पेनाल्टी प्रहारले जाली चुमेको थियो ।

 आर्मीले पाँचौ मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चौथो पटक फाइनल पुगेर पनि उपाधि विमुख बन्यो । आर्मी यसअघि सातौ, आठौं र चौधौं संस्करणमा फाइनल खेलेको थियो ।
फाइनलमा म्यान अफ दी म्याच थ्रीस्टारका एलन न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै उत्कृष्ट गोलकीपरको उपाधि पनि आफ्नै पक्षमा पारे । सर्वोत्कृष्ट खेलाडी वापत स्कूटर चढेका उनले उत्कृष्ट गोलकीपरवापत नगद १५ हजार रुपैयाँ पुरस्कार पाए ।

 यस्तै सर्वाधिक गोलकर्ताको उपाधि पाएका थ्रीस्टारका अनिल गुरुङ (३ गोल) ले २५ हजार पाए ।

 खेलमा आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्स, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र थ्रीस्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई जनही १५ हजार रुपैयाँ र अनुशासित एपीएफले १० हजार पुरस्कार पाए ।

 आर्मीका लागि टेकबहादुर बुढाथोकीले सुरुवाती गोल गरेकोमा पहिलो हाफको इन्जुरी टाइममा थ्रीस्टारले बराबरी खेलेको हो । जसमा विपक्षी खेलाडीको ह्याण्ड हुँदा पाएको पेनाल्टीमा रञ्जित धिमालको पेनाल्टी प्रहार गोलमा परिणत भयो ।
निर्धारित समयमा १–१ को बराबरीपछि आर्मीले पुनः अग्रता लिएको थियो । १०५ औ मिनेटमा आर्मीका सन्तोष तामाङको पासमा बिमल पाण्डेले हेडमार्फत गोल गर्दै गोलअन्तर २–१ पु¥याएकोमा लगत्तै थ्रीस्टारले गोल फर्काएको थियो । ११२ औं मिनेटमा विदेशी खेलाडी पिटर सेगुनको गोल गर्दै खेल टाइब्रेकरमा धकेलेका थिए ।

 अतिरिक्त समयमा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । १०० औं मिनेटमा सुनिल बलले विपक्षी आर्मीका सन्तोष तामाङ्लाई लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले रेड कार्ड दिँदै मैदान बाहिर पठाएका थिए । सो लगत्तै प्लेयर लिष्टमै नपरेका आर्मीका आशीष शाक्यलाई सेसाङ आङ्दम्बेको स्थानमा मैदान छिराएपछि थ्रीस्टारको अपीलमा शाक्यलाई बाहिर पठाइएको थियो ।

 आयोजक सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा राखेप सदस्यसचिव केशवकुमार बिष्ट, राखेप सदस्य राजेश गुरुङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, आयोजक क्लब अध्यक्ष केशवबहादुर थापा, क्लब पूर्व अध्यक्ष एवं पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका हुन् ।

 गत ९ फागुनदेखि सुरु प्रतियोगितामा यसपालि मात्र १० टिमको सहभागिता थियो । फाइनलमा प्रमुख अतिथि राखेप सदस्य सचिव एवं सांसद केशवकुमार बिष्टले प्रतियोगिता सकिएपछि भोलिपल्टदेखि नै पोखरा रंगशालाको निर्माणले दू्रत गति लिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित