एआईजीसँग चीन शसंकित, ग्याल्सेनले हटाए तस्विर

dalailama

   काठमाडौं । नेपाल सरकारले नेपाली भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाइरहेको बेला नेपाल प्रहरीका एक एआईजी भने चीन विरोधी गतिविधिमा संलग्नसँग आशिर्वाद लिन पुगेका छन् । एआईजी पुष्कर कार्कीले ‘फ्रि तिब्बत’को माग गर्दै आएका दलाई लामाका विशेष प्रतिनिधि एवम् बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनलाई भेटेर आशिर्वाद लिएसँगै चीनयाँ दूतावासले कडा आपत्ति जनाएको स्रोतले बताएको छ । चिनियाँ दूताबासले यस बारेमा गृह मन्त्रालयलाई ध्यानाकर्षण गराईसकेको मन्त्रालय स्रोतले बतायो ।

काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा बस्दै आएका मास्टर ग्याल्सेनसँग केही दिन अघि मात्र एआईजी कार्कीले आशिर्वाद लिएको तस्बिर सार्वजनिक भएको थियो । तर, सामाजिक सञ्जाल र केही अनलाईनहरुमा उक्त तस्विर भाइरल बनेपछि मास्टर ग्याल्सेनले फेसबुक पेजबाट तस्विरहरु हटाइसकेका छन् । एआईजी कार्कीले भने ग्याल्सेन धार्मिक गुरु भएको र अरु नेताहरुले पनि भेटिरहेको हुँदा आफूले पनि आकस्मिक रुपमा भेटेको आफ्ना अन्धभक्तहरुमार्फत प्रतिवाद गरेका छन् । उनले आपूm निकटका केही अनलाईनका पत्रकारहरुलाई बोलाएर सामाजिक सञ्जालमार्फत ‘नेताले भेट्न हुने मैले किन नहुने’ भन्ने पोष्ट गर्न लगाएका छन् ।

तर, एक उच्च प्रहरी अधिकारी भन्छन्–‘यदि ग्याल्सेन राम्रो व्यक्ति थिए र विवादास्पद व्यक्ति थिएनन् भने किन उनले एआईजीलाई आशिर्वाद दिएको तस्विर हटाए ? राजनीतिक दलका नेताहरुले जो कोही व्यक्तिलाई पनि भेट्न सक्छन्, तर, प्रहरीको उच्च ओहोदामा बसेको व्यक्तिले दलाई लामामा प्रतिनिधिलाई भेटेर अझै आफूले राम्रो काम गरेको भन्दै सहयोगी मार्फत प्रतिवाद जनाउनुलाई उनको नियत नै खराव रहेको देखिन्छ ।’

त्यसो त एआईजी कार्की तिब्बती गतिविधिदेखि अवैध रुपमा हुने विदेशी एजेन्टहरुको क्रियाकलापहरुको विषयमा जानकारी राख्ने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख पनि हुन् । तर, कार्कीले नै सरकारको नीति विपरित यसरी तिब्बती आन्दोलनलाई मलजल पु¥याउनेसँग नै भेटघाट गर्न थालेपछि उनलाई गृह मन्त्रालयले कारबाही गर्न सक्ने गृह स्रोतको भनाई छ । एआईजी कार्कीले दलाई लामाका प्रतिनिधि ग्याल्सेनलाई भेटेको विषयले नेपाल प्रहरीभित्र पनि हलचल मच्चिएको छ । सरकारले बारम्बार चिनियाँ अधिकारसँगको भेटमा नेपालमा तिब्बती शरणार्थीबाट हुने चीन विरोधी गतिविधि रोक्न प्रतिबद्वता जनाउँदै आएको छ ।

केही बर्ष अघि स्वतन्त्र तिब्बत माग गर्दै काठमाडौंमा मात्र तीन जना तिब्बती नागरिकले आत्मदाहा गरेका थिए । एआईजी कार्कीले यसरी तिब्बती नेतालाई भेटेर आशिर्वाद लिँदा फेरी पनि तिब्बतीहरुको चीन गतिबिधी बढ्ने अवस्था देखिएको छ । नेपालमा आत्मदाह गर्दा तिब्बती आन्दोलनप्रति अन्तर्राष्ट्रिय क्षेत्रको चासो बढ्ने र यहाँ प्रभाव बढाउँदै गएको चीनमाथि दबाब बढ्ने दलाई लामाको सहयोगीहरुको बुझाई छ । युरोपियन युनियनसँग समेत नजिक रहेको मानिएका मास्टर ग्याल्सेनलाई भारतको धर्मशालामा रहेका तिब्बती नेता दलाई लामाले पछिल्लो समयमा चीन बिरोधी गातिविधी बढाउनका लागि बिशेष रूपमा निर्देशन दिइएको बुझिएको छ । – यूनाइटेड पाेष्ट

प्रतिक्रिया

सम्बन्धित