बुलेटप्रुफ सिसाभित्र श्रीपेच, आजबाट सर्वसाधरणका लागि अवलोकन खुल्ला

shreepech

shreepech

  काठमाडौं । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी संग्राहलयमा उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो।

नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको छ।

अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा लिएका थिए। राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो।

सरकारले गत आर्थिक वर्ष २०६८÷६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरेको थियो। तर, सुरक्षाको कारण देखाउँदै श्रीपेचलाई सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको थिएन। करिब ६ वर्षपछि मात्रै आवश्यक सुरक्षा प्रबन्ध गरी श्रीपेचलाई अवलोकनका लागि राख्न लागिएको हो।

जसका लागि सुरक्षाका ७ वटा तह निर्धारण गरिएको बताइएको छ। श्रीपेचको सुरक्षाका लागि केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिएको थियो। नेपाली सेनाको कालीबहादुर गणका सेनाले सोकेसको परीक्षण गर्ने क्रममा १६ फिट टाढाबाट गोली प्रहार गर्दा सिसा सामान्य रुपमा चर्किएको मात्र थियो।

प्रतिक्रिया

सम्बन्धित