सभापतिले बोलाएको बैठक बहिष्कार, खड्कालाई महतले कुट्न झम्टिए

deuba, khadka and mahat

deuba, khadka and mahat

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको विहीबार बिहान ११ बजे बस्ने बैठक संस्थापनइत्तर पक्षका सबै नेताले बहिस्कार गर्ने भएपछि स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार बिहान भएको टेलिफोन वार्तापछि सिटौलाले बैठकमा आउन गरेको आग्रहलाई अस्वीकार गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।

नेविसंघको बिधान पारित गर्ने सम्वन्धमा सहमति जुटाउनको लागि निर्देशक समितिलाई केही समय लाग्ने भएकोले स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेस केन्द्रीय समितिको आइतबार रातिसम्म भएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता सिटौला र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले नेविसंघ केन्द्रीय समितिले पेश गरेको बिधानलाई छलफलमा नल्याइ सहमहामन्त्री डा. प्रकाशशरण महतले पेश गरेको नेविसंघको बिधानको मस्यौदालाई पेश गरेपछि बैठकको निर्णयप्रति असहमति (नोट अफ डिसेन्ट) जनाएका थिए ।

 महतले पेश गरेको नेविसंघको प्रस्तावित बिधानलाई आंसिकरुपमा पारित गरेपछि विहीबार बोलाइएको केन्द्रीय समिति बैठक संस्थापन पक्षका नेताहरुले बहिस्कार गर्ने भएपछि सभापति देउवा बैठक अनिश्चितकालको लागि स्थगित गरेका हुन् । विहीबारको केन्द्रीय समिति बैठकमा सहभागित नजनाउन बरिष्ठ नेता पौडेल बिहीबार बिहान नै दमौलीमा कांग्रेस जिल्ला समितिले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन गएका छन् ।

 पौडेल पार्टीको कार्यक्रममा दुइ दिनसम्म उपत्यकाबाहिर नै रहने भएका छन् । अर्का नेता सिटौला भने बुधबार नै बिराटनगर गएका छन् । उनले मोरङ क्षेत्र नं पाँचले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जनाइ सकेका छन् । उनी विहीबार सुनसरी, शुक्रबार बारा र शनिबार बीरगंजमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुँदैछन् ।
महामन्त्री डा.शशांक कोइराला समेत विहीबार बैठक स्थगीत नगरेको भए बैठकमा भाग लिन नसक्ने थिए । कोइराला बुधबार नै चितवन र नवलपरासीका बिभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले विहीबार नवरपारासीको गौंडाकोटमा आयोजित क्षेत्रिय आमसभालाई संवोधन गर्ने भएका छन् । उनले शुक्रबार भने नेपाल प्रेस युनियन चितवनको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अर्का नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत पनि बुधबार बिहान बिदुरमा कांग्रेस जिल्ला समिति नुवाकोटले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने जिल्ला सभापति जगदीश्वरनरसिंह केसी बताउँछन् । यसरी केन्द्रीय सदस्य डा. शेखर कोइराला भने देउवाले आइतबार बोलाएको बैठकमा समेत सहभागी थिएनन् । संस्थापन पक्षधर अधिकांस केन्द्रीय सदस्यहरु आ आफ्नो जिल्लाका कार्यक्रममा सहभागी भएका छन् ।

 अधिकांस केन्द्रीय सदस्य र नेताहरु उपत्यकाबाहिरको कार्यक्रममा जान थालेपछि देउवाले बुधबार बिहान नेता सिटौलालाई टेलिफोन गरी विहिबारको बैठकमा आउन आग्रह गरेका थिए । तर, देउवाको आग्रहलाई सिटौलाले अश्वीकार गरी बैठकमा अघिल्लो समितिमा गरेको गल्ती नसच्याएसम्म बहिस्कार नै गर्न सक्ने चेतावनी दिएका थिए ।

 स्रोतका अनुसार सिटौलाले पार्टी बिधान बिपरित भातृ संस्थाले पेश गरेको बिधानलाई पारित नगरी सहमहामन्त्रीले ल्याएको प्रस्ताव एक्कासी पेश गरेर पढ्न पनि नदिई पास गरेको भनी आफूहरुको गुनासो दोहोर्याका थिए । स्रोतका अनुसार सिटौलाले ‘सभापतिको यस्तै कार्यशैली हो भने म बैठकमा अनुपस्थित होइन, बहिस्कार गर्न सक्छु । बहुमतको आधारमा असन्तुष्टको कुरा नसुन्ने, एकल निर्णय गर्ने, गुटको मात्र कुरा सुन्ने हो भने आफूजस्तै धेरैले बहिस्कार गर्न सक्ने’ चेतावनी दिएका थिए ।
उनले देउवालाई निरंकुश र सामन्तवादी ढंगले नचल्न भनेपछि देउवाले निसार भएर ११ बजे नै मुख्य सचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर बैठक स्थगित गर्न निर्देशन दिएका थिए । असन्तुष्ट पक्षलाई फकाउन भन्दै सिटौलालाई भेट्न उनको निवास मण्डीखाटार पुगेका महामन्त्री पूर्णबहादुर खड्का समेत निरास भएर फर्किएका थिए । उनले सभापति देउवालाई फोन गर्दै आफूबाट सम्भव नभएको भन्दै सिटौलालाई मनाउन देउवालाई सुझाव दिएका थिए । बिहान साडे ९ बजे सिटौला निवास पुगेका खड्कासँग सिटौलाले करिव पौने एक घण्टा छलफल गरेका थिए । सो क्रममा सिटौलाले केन्द्रीय समिति बैठकमा आफूहरुलाई वाईपास गरे महासमिति बैठकमा हिसाव किताव हुने चेतावनी दिएका थिए ।
अपमान गर्ने भए धेरै साथि आउँदैनन् : सिटौला
सिटौलाले देउवासँग कुराकानी गर्दै आइतबार राति भएको बैठकमा केही केन्द्रीय सदस्यको कार्यशैलीप्रति पनि आपत्ति जनाएका थिए । उनले पार्टीको कार्यबाहक सभापति भइसकेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलिरहँदा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्यहरु मोहनबहादुर बस्नेत र मीन विश्वकर्माले प्रतिवाद गर्ने र बाधा पु¥-उने काम असोभनिय र अपमानित गर्ने किसिमको भएको भन्दै आपत्ति जनाएका थिए । \

 महतले पौडेललाई बोल्न समेत नदिइ बारम्बार बाधा गर्ने काम गरेका थिए । सिटौलाले बोल्दा समेत महत र बस्नेतले प्रतिवाद गरेका थिए । बस्नेत र महतले पाखुरा समेत सुर्कीएको एक केन्द्रीय सदस्यले बताए ।
नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई समेत महतले पाखुरा सुर्किएर कुट्न झम्टिएका थिए । खड्का त्यस घटनापछि तत्कालिन कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय समिति बैठकमा जान छोडेका थिए । महत र बस्नेतले त्यस्तो हर्कत देखाए बैठकमा आउन नसक्ने पौडेल, सिंह र केसीले समेत देउवालाई जनाई सकेका छन् ।

 आइतबारको बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई कम्युनिष्ट राजनीतिबाट कांग्रेस भएलगत्तै दुई पटक केन्द्रीय सदस्य र दुई पटक सांसद तथा मन्त्री हुने अवसर पाएकै अधारमा अन्य त्यागी नेतालाई अपमानित नगर्न चेतावनी दिएका थिए । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित