अध्यक्ष नभएको मौकामा नेपाल गुट स्थापित

kp prachanda and madhav

 काठमाडौं । पूर्व एमालेका नेता माधवकुमार नेपालले आफ्नो गुटलाई औपचारिक रुपमा घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा नभएका बेला नेता नेपालले आफ्नो गुटलाई स्थापित गरेका हुन् ।

 नेकपा बन्नुअघि यो समूह ओलीको संस्थापन समूहभन्दा फरक समूहका रुपमा चिनिन्थ्यो । असोज ५ गते भएको नेकपा केन्द्रीय सचिवालयको निर्णयप्रति असन्तुष्ट नेपालले आफ्नो खेमालाई बलियो बनाउन असोज १२ गते बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा एउटा चियापान भेला आयोजना गरे । तर, त्यो कार्यक्रममा झलनाथ खनाल भने अनुपस्थित रहे । इन्द्रेणी फुडल्यान्डमा आयोजित चियापानमा नेपालले अध्यक्षद्वय ओली र प्रचण्डप्रति आक्रोस व्यक्त गरिरहँदा खनाल भने काभ्रेको धुलिखेलमा चिकित्सा सम्बन्धी एउटा सम्मेलनलाई सम्बोधन गर्दै थिए ।

 नेपालजस्तै खनालपनि अध्यक्षद्वय ओली र प्रचण्डको पार्टी सञ्चालन र निर्णय प्रक्रियाप्रति सन्तुष्ट छैनन् । तर, खनाल नेपालको कार्यशैलीसँग पनि सन्तुष्ट छैनन् । नेपालले आयोजना गरेको चियापानमा खनाल अनुपस्थित हुनुको मुख्य कारण यही हो । नेकपा बन्नुअघि एमालेभित्रको बरियतामा अध्यक्ष ओली एक नम्बरमा थिए । खनाल बरियताको दोस्रो नम्बरमा र नेपाल तेस्रो नम्बरमा थिए । निवर्तमान अध्यक्ष भएकाले खनाललाई बरियतामा ओलीपछिको स्थान दिइएको थियो ।

 खनाल अध्यक्ष हुँदा चाहिँ नेपाल बरियताको दोस्रो नम्बरमा थिए । किनभने, खनाल अघि नेपाल पार्टी नेतृत्वमा थिए । ओली चाहिँ बरियताको तेस्रो नम्बरमा थिए । नेकपा बनेपछि बरियता निर्धारण गरिँदा चाहिं खनालको बरियता खोसियो । एमाले भित्रको बरियताक्रम ख्याल गर्दै ओली–प्रचण्डपछि खनाललाई राखिनु पर्ने हो । तर, नेपाल राखिए । बरियतामा खनाल चौथो नम्बर अर्थात् नेपालभन्दा पछि परे ।
बरियता तोक्नु नै थियो भने एकता अघि नै तोकेको भए हुने थियो ।

 किनभने, अहिलेको ९ सदस्यीय केन्द्रीय सचिवालयमा रहेका बिष्णु पौडेल (महासचिव) बाहेक सबै नेता एकता पूर्वको ‘पार्टी एकता संयोजन समिति’ मा थिए । पार्टी एकता पूर्व कहिल्यै बरियताक्रमको कुरा उठेन । नेपालले पनि उठाएनन् । ७ जेठको बैठकमा चाहिँ एकाएक बरियताक्रमको कुरा उठ्यो । नेपालले नै उठाए । ओली र प्रचण्ड पछिको स्थानमा उनी रहेका छन् । जेठ ७ गतेको बैठकमा खनाल उपस्थित थिएनन् । उनी चीन भ्रमणमा थिए । खनाल नभएको मौका पारेर नेपालले बरियताक्रम तोक्ने प्रस्ताव गरेका थिए । खनालको अनुपस्थितिमा आफूलाई ओली प्रचण्डपछिको बरियतामा पार्न सफल भएका थिए । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित