ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, अधिकांश रोल्पा र दाङका

tripar

  काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा भएको ट्रिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ भने १२ जना घाइते भएका छन् । कालीगण्डकी करिडोरमा कार्यरत मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो ।
स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कालीगण्डकी करिडोरको भेनादेखि झैते खण्डमा कार्यरत मजदुरहरु चढेकोे बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो। मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काका अनुसार मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् ।

प्रहरीका अनुसार रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका रहेका छन् ।

त्यसैगरी रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ ।

त्यस्तै घाइते भएका १२ जनामध्ये ८ जनालाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । सामान्य घाइते ५ जनालाई जिल्ला अस्पताल मुस्ताङमा उपचारका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित