पार्टी एकीकरणसँगै धमाधम गुट परिवर्तन

nekapagut

 काठमाडौं । एमाले र माओवादीको पार्टी एकीकरणबाट असन्तुष्ट दुबै दलका नेताहरूले भविष्यमा एउटै पार्टीमा बस्न नसकिने बताउन थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनासँगै पार्टीभित्र ठूलो असन्तुष्टि बढेको छ । तर, तत्काल विद्रोह हुने अवस्था भने देखिदैन । यो कुरा बुझेका अध्यक्ष केपी ओलीले सबै नेता तथा कार्यकर्ताहरूलाई पेलेरै लैजाने मनस्थिति बनाएका छन् । 

 आफू अनुकूलका नेताहरूलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य तथा हाइकमाण्डमा राखेका छन् । ओलीले विष्णु पौडेललाई महासचिवमा बढुवा गरेर ईश्वर पोखरेललाई अघोषित रुपमा कारबाही गरेका छन् । ओलीको कारबाहीमा परेपछि पोखरेललाई आफ्नै समूहमा रहेका सूर्य थापासहितका नेताहरूले पनि साथ छाडेका छन् ।

 सूर्य थापा समूह विष्णु पौडेलको पछाडि लाग्न सुरु गरिसकेको छ । पोखरेलबाट केही नहुने भएपछि नेताहरूले धमाधम गुट परिवर्तन गरेका हुन् । ओलीले पोखरेलको मात्रै होइन झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई सहितका थुप्रै नेताको राजनीतिलाई नोक्सानी पु¥याइदिएका छन् । उता, अर्का अध्यक्ष प्रचण्डले पनि शक्ति बस्नेत, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, पम्फा भुसाल, रामबहादुर थापा, कृष्णबहादुर महरासहितका नेताहरूको राजनीतिमा खेलवाड गरेका छन् । महराले त प्रचण्डको खुलेरै विरोध गर्न थालेका छन् ।

 प्रचण्डले माओवादी पार्टी सिध्याएको आरोप महरा समूहको छ । माओवादीमा सबैभन्दा धेरै चोट टोपबहादुर रायमाझीलाई परेको छ । रायमाझीलाई सिध्याउन प्रचण्डले हदैसम्मको तल्लोस्तरको राजनीति गरेको आरोप छ । स्रोतले भन्यो, ‘प्रचण्डले बरु आफ्ना छोरी र बुहारीलाई केन्द्रीय सदस्य बनाउनु भयो । तर, पार्टीमा उच्च स्थानमा रहेका टोपबहादुर रायमाझीलाई कुनै राम्रो हैसियत दिनुभएन । यसरी कति दिन सम्म चल्छ पार्टी ?’ टोपबहादुर रायमाझीले पनि नयाँ पार्टी नेकपाबाट धेरै राजनीति हुने अवस्था देखेका छैनन् ।

 एमाले र माओवादीका असन्तुष्ट नेताहरूले तत्काल कुनै वैकल्पीक व्यवस्था सोचेका छैनन् । तर, पार्टीभित्रै अलग धार निर्माण गरेर संगठित हुने तयारी थालेका छन् । समय आयो भने त्यही संगठित समूहलाई प्रयोग गरेर पार्टी विभाजनसम्म गर्ने योजना बन्न थालिसकेको छ । अबको दुई वर्षपछि नेकपा भन्ने पार्टी सग्लो हुने छैन भनेर टिकाटिप्पणी हुन थालेको छ । 

 ओलीसँग कुनै पनि सर्त नराखेका प्रचण्डले दुई वर्षका लागि प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् । पार्टी अध्यक्षमा उनलाई रोक्ने धेरै नेताहरू छन् । ओलीको चँगुलमा फसेका प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष पद नमिल्ने हो कि भनेर विश्लेषण हुन थालेको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित