दया, करुणा र शालिनता नेपाली राजनीतिबाट हराउँदै गएको छ

devi gyawaliदेवी ज्ञवाली, नेता – नेकपा एमाले
लामो समयपछि सिंहदरबारभित्र भेटिएका देवी ज्ञवाली चितवनको विकास निर्माणको कुरा गर्दै थिए । एमालेका नेता राजन भट्टराईसँग एमालेको संसदीय दलको कार्यालयमा छोटो कुरा गरेका ज्ञवालीले विशेष गरेर भरतपुर महानगरपालिकाको विकास निर्माणकै बारेमा चासो व्यक्त गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधि सभा निर्वाचनमा जिताउन ठूलो भूमिका खेलेका ज्ञवालीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पनि सहयोग माग गरे साथ दिने बताए । आफूलाई जालझेल गरेर हराए पनि ती सबै कुरा आफूले राजनीतिक रुपमा भुल्दै गएको बताए । एमाले चितवनका नेता एवम् तत्कालीन समयमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार देवी ज्ञवालीसँग mynewsnepal.com का लागि गरिएकाे कुराकानी :


० काठमाडौं के कामको लागि आउनु भएको हो ?
– चितवनका विकास निर्माण र उद्योगी व्यवसायीहरूका समस्याहरू लिएर आएका छौं । सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन आएका हौँ । पार्टी एकताको सन्दर्भमा जिल्लाका कुरा गर्न पनि आएका हौँ । जनताको भावना नेताहरूलाई सुनाउन आएको भन्दा हुन्छ ।

० त्यति ठूलो सेलिब्रेटी बनेको देवी ज्ञवाली अहिले हराएको हो ? त्यो देवी ज्ञवाली कहाँ छ अहिले ?

– म हराएको छैन । म जनताको बीचमा छु । कार्यकर्ताको समस्या समाधान गर्ने क्रममा छ । सरकार र जनताको बीचमा पुलको भूमिकामा छु ।

० पार्टी एकता हुन्छ कि हुँदैन ? तपाईलाई कस्तो लाग्छ ?

– पार्टी एकता हुन्छ । गराउनै पर्छ ।

० तपाई त ग्रामीण कार्यकर्ताहरूको सम्पर्कमा हुनुहुन्छ । उनीहरूले पार्टी एकीकरणका विषयमा के भन्छन् ?
– नेताहरूले धोका दिन्छन् कि, आफ्नो स्वार्थलाई बढी ध्यान दिन्छन् कि, आन्दोलनको स्वार्थलाई हेर्दैनन् कि, आमजनताको आम भविस्य र भाग्यलाई कतै विर्सन्छन् कि, निजी स्वार्थका कारणले बाचा भुल्छन् कि ? भन्ने कुराले कार्यकर्ताहरू सशंकित पनि छन् । आशावादी पनि छन् । सशंकित पनि छन् ।

० तपाईलाई हराउन भूमिका खेलेका प्रचण्डलाई जिताउन तपाई आफै ज्यान फालेर लाग्नु भयो है ?
– हो नि । म उहाँलाई जिताउन लागेकै हो ।

० प्रचण्डलाई जिताउन किन यति धेरै सक्रिय हुनुभयो ?
– होइन मैले कम्युनिस्ट आन्दोलनलाई एकता गराउन सहयोग गरेको हुँ । प्रचण्ड हारेको भए उनले एकता हुन दिँदैन थिए । र, उनलाई जिताएपछि एकतामा बल पु¥याउन सकिन्छ भनेर मैले जिताउन सक्रिय भूमिका खेलेको हुँ ।

० तर, तपाईलाई त प्रचण्डले नराम्रोसँग हराएका होइनन् र ?
– प्रचण्डले मलाई हराएकै हो । उहाँले मलाई इँट्टाले हान्नुभयो । मैले उहाँलाई फूलले हाने । उहाँलाई मैले फूलको मालाले स्वागत गरेँ । उहाँ र मेरोबीचको फरक यत्ति मात्रै हो ।

० प्रचण्डसँग तपाईको सम्बन्ध कस्तो छ ?
– सम्बन्ध ठीकै छ ।

० भेटघाट हुन्छ ?
– हुन्छ । भेटघाट हुने गरेको छ ।

० तपाईको प्रतिद्वन्द्वी रेणु दाहालसँग पनि भेटघाट र सम्वाद हुन्छ ?
– रेणु दाहालसँग भेटघाट हुन्छ । काम परेका बेला भेट्ने हो । सम्वाद पनि हुने गरेको छ ।

० पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग तपाईको कस्तो सम्बन्ध छ ?
– पार्टी अध्यक्षसँग राम्रो नहुने त कुरै भएन नि ? उहाँसँग झन् राम्रो सम्बन्ध छ । भेटघाट पनि हुन्छ । अरु कार्यकर्तालाई जस्तै मलाई पनि अध्यक्षज्यूको सहयोग र साथ छ ।

० तपाईलाई हराएपछिको परिस्थितिलाई कसरी सहज बनाउनु भयो ?
– रेणु दाहालले मलाई हराउनु भयो । नेपालको निर्वाचनको इतिहासमा भरतपुरको निर्वाचन २०७४ अत्यन्तै कालो धब्बाको रुपमा बसेको छ । त्यो मेटिनेवाला छैन । त्यसको नकारात्मक असर नेपाली निर्वाचन इतिहासको एउटा गलत उदाहरणको रुपमा भरतपुरको निर्वाचन रह्यो । कालो धब्बाको रुपमा रह्यो । मेरा लागि निर्वाचन एउटा कालखण्डकाको कुरा थियो । तर, पार्टी, आन्दोलन, जनता र राष्ट्र मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ।

० रेणु दाहाललाई देख्दा तपाईको मन चसक्क दुख्दो हो नि ?
– होइन मलाई केही लाग्दैन । किनभने म प्रतिशोधबाट चल्ने मान्छे होइन ।

० तैपनि तपाईको भावनामा के हुन्छ भनेर सोधेको मैले ?
– विचरा ! एउटा नानी । निर्वाचनमा कसैको वा कसैको इच्छाका कारणले अनुचित तरिकाबाट आएको एउटा पात्रका रुपमा देखिएको हो । एउटा पात्रको रुपमा मात्रै उहाँलाई बुझ्छु मैले ।

० रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ । उहाँले अहिले कस्तो काम गर्नुभएको छ ?
– जटिलता धेरै छन् । समस्या धेरै छन् । नागरिकका आकांक्षाहरू धेरै छ । त्यो अनुसारको गतिमा काम हुन सकेको छैन । समस्या धेरै छन् । उहाँले क्रमशः गतिलाई बढाउनुपर्ने आवश्यक्ता देख्छु मैले ।

० रेणु दाहालले महानगरपालिकाका विषयमा एमालेसँग सरसल्लाह गर्नु भएको छ कि छैन ?
– अब पार्टी नै एकता हुँदा उहाँले हामीसँग सल्लाह गर्नै पर्ला । गर्नु पनि पर्छ । अहिले मेयर एक किसिमले स्वतन्त्र पद पनि हो । हामीले सँधै काममा हस्तक्षेप गर्ने कुरा उपयुक्त ठान्दैनौं । म पनि उपयुक्त ठान्दिन । र, उहाँलाई पनि दिनदिनै हस्तक्षेप गर्न चाहन्न । नीतिगत रुपमा उहाँले सहयोग माग्दा, योजनाका कुरामा सहयोग माग्दा म आफ्नो ठाउँबाट उहाँलाई मद्दत गर्न चाहन्छु । किनभने जे जसरी पनि उहाँ भरतपुरको मेयर हुनुभयो । मैले सहयोग गर्ने मेयरलाई नै हो । भरतपुरलाई हो । भरतपुर नगरवासीको हितका लागि मैले त्यो पदमा जो रहन्छ उनीहरूलाई मद्दत गर्नुपर्ने मेरो कर्तव्य हुन्छ ।

० रेणु दाहाल राजनीतिक व्यक्ति हो कि होइन ?
– उहाँले काठमाडौंमा पनि चुनाव लड्नु भएको रहेछ । पार्टीको नीति अन्तर्गत कार्यकर्तामा पनि लाग्नु भएको रहेछ भन्ने कुरा मैले पछाडि सुन्दैछु । तर, पार्टीको इतिहाँस कसैको छोटो हुन्छ । कसैको लामो हुन्छ । भरतपुर महानगरपालिकाको हिसावमा उहाँको छोटो राजनीतिक इतिहाँस भएपनि, अब अहिले जसरी भए पनि जिम्मेवारीमा आउनु भएको छ । गहन दायित्वलाई पूरा गर्न उहाँले अलि तीब्रता र जोडका साथ गति बढाउने आवश्यक्ता चाहिँ छ ।

० प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डलाई जिताउन देवी ज्ञवालीले पैसा खायो भन्ने आरोप पनि लाग्यो हो ?
– त्यस बेला धेरै खालका अनर्गल प्रचारहरू भए । नेपाली समाज परपीडक छ । आफूले बद्मासी गरेको अरुलाई पनि बद्मासी गरेकै होला भन्ने ढंगले हेर्छ । क्षमा, दया, करुणा, शालिनता जस्ता कुराहरू नेपालमा राजनीतिबाट अलिक परतिर भागिरहेको कुरा देख्छ । त्यस्तो स्थितिमा प्रतिशोधले राजनीति अगाडि बढ्दैन ।

० तपाईले प्रचण्डसँग पैसा खानु भएको हो कि होइन ?
– पैसा खाने हो भने देवी ज्ञवाली किन राजनीतिमा लाग्ने ? पैसाकै लागि हो भने म अरु पेशामा लाग्नु पथ्र्यो । म व्यापारमा लाग्नु पथ्र्यो । म त सामाजिक काममा लागेको हुँ । राजनीतिक आन्दोलनमा जुटेको कार्यकर्ता हुँ ।

० एमालेभित्रै तपाईको विरोधी गुटले पनि निर्वाचनका बेला असहयोग गरेको भन्थे हो ?
– मसँग सिङ्गो कांग्रेस लागेर भिडेको ठाउँमा पार्टीको छिद्र भूमिका कसको के रह्यो भन्ने कुरामा म त्यतापट्टि हेर्न र खोज्न मन लागेन । त्यो गर्ने फुर्सद पनि छैन । म त्यसको चर्चा पनि गर्न चाहन्न । यत्ति हो देवी ज्ञवाली आफ्नो त कुरै नगरौँ अरु शक्ति मिलेर आउँदा पनि एक्लै सामना गर्ने आँट, साहस दृढता लिएको मान्छे हो ।

० एमालेको केन्द्रीय कमिटी वा नेतृत्वसँग केही अपेक्षा गर्नुभएको छ ?
– यो सरकारले जनताको काम गर्नुपर्छ । र, हामीले पनि रचनात्मक सहयोग गर्नुपर्छ । त्यस्तो केही अपेक्षा छैन ।

० होइन तपाईलाई केन्द्रीय कमिटी वा नेतृत्वले के गरोस् भन्ने चाहना छ ?
– केन्द्रीय कमिटीलाई मैले भन्ने कुरा होइन । मैले माग्ने कुरा होइन । त्यो पार्टी केन्द्रीय कमिटी आफैमा विवेक छ । आफ्ना कार्यकर्ताहरूको भूमिका के छ ? कसरी काम गरिरहेको छ ? भन्ने कुराको मूल्यांकन पार्टी केन्द्रले गर्ने कुरा हो । यो मागेर, दवाव दिएर, घुर्काएर, सन्काएर, पार्टी छाड्छु भनेर यो तरिकाले ल्याउने कुरा जे छन् ती गलत हुन् । अनुचित हुन् । त्यो गलत शैली, संस्कारको प्रक्रियामा देवी ज्ञवाली कहिल्यै पनि संलग्न हुँदैन ।

० तपाइँले अध्यक्ष केपी ओलीसँग केन्द्रीय नेतृत्वमा भूमिका चाहियो भनेर केही माग्नु भएको छैन ? केन्द्रीय सदस्य वा यस्तै पद ?
– मैले किन माग्नु ? म मागन्ते हुँ र ? म सकेको दिने मान्छे । म माग्न चाहँदैन । मेरा कार्यकर्ता छन् । मेरा जनता छन् । उनीहरूले चिन्छन् । आवश्यकता ठान्छन् भने आफ्नो काममा लैजान्छन् । आवश्यकता अहिले देख्दैनन् भने मैले आफ्नै जनताको बीचमा काम गरिरहेको छु ।

० भरतपुर महानगरपालिकाभित्र गर्नुपर्ने कामहरू के–के छन् ?
– अब महानगर भन्ने वित्तिकै सूचनासँग कनेक्टेड हुनुपर्छ । आज तपाई÷हाम्रो कुनै महानगरपालिकाले घर नम्बर दिएको छैन । आज तपाईको नेभिगेशनको हिसावबाट कन्ट्याकमा ल्याउन सक्नु भएको छैन । हरेक वडाहरूलाई कनेक्सनमा ल्याउनु जरुरी छ । हाउस नम्बरिङ दिनुछ । सडकको नाम वर्गिकरण गर्नुपर्नेछ । त्यसपछि भरतपुरको पुल्चोकमा ओर्लेर मेघौँलीको कुनै एक व्यक्तिको घरमा जानुप¥यो भने कसैसँग बाटो खोज्नु नपरोस् । बाटो, नक्सा, नेभिगेशन अनि घर नम्बर हेरेर स्ट्रिटहरू हेर्नु हुन्छ । सिधै उसको घरमा पुग्नु हुन्छ । अब यति मिनट बाँकी छ भन्ने कुरा तपाईलाई त्यसले देखाउनेछ । म यो सपना देखिरहेको छु । भरतपुरमा गर्नुपर्छ । भरतपुर देशकै मध्यभागमा छ । नारायणी नदी छ ।

नेपालमा जलक्रिडाको लागि कुनै ठाउँ छैन । रिक्रियशनका लागि मान्छेहरू पटाया पुगेका छन् । त्यो खालको योजना बनाउनुपर्छ । नारायणी नदीमा ड्यामिङ गर्नुपर्छ । यसको दायाँबायाँको जग्गा उकास गर्नुपर्छ । त्यसबाट एकातिर औद्योगिक क्षेत्रको लागि जग्गा छुट्टाउनुपर्छ भने अर्कोतिर अव्यवस्थित बसोबासका मानिसहरूको सेटलमेन्ट गर्नुपर्छ । त्यसपछि पर्यटन, मनोरञ्जनलगायतको कुरा हामीले पूरा गर्न सक्छौँ । त्यो कामको लाग गुरु योजना अगाडि बढाउनुपर्नेछ ।

० भरतपुर महानगरपालिकाभित्र यौन व्यवसाय फस्टाएको छ भन्छन् नि ?
– खै मलाई त थाहा छैन । संसारमा सबैभन्दा ठूलो व्यवसाय के छ भन्दा मान्छेले यौन व्यवसाय छ भन्छन् । अरुले भनेको सुनेको मात्रै हुँ । मलाई थाहा छैन । तर, मेरो नगरमा मान्छेहरूले दुश्चरित्रमा संलग्न हुने काम गरेका छैनन् ।

० तपाईहरूले नारायणगढ–मुग्लिनको सडक छिटो निर्माणमा किन चासो दिनु हुँदैन ? सरकारी कामलाई छिटो गराउन नेताहरू अल्छी भए है ?
– हामीले दवाव दिइरहेका छौँ । हामी अल्छी छैनौँ । पहिलो पटक नै ठेकेदारहरूले एडिबीसँगको प्रपोजलमा ३ वर्षे समय माग गरेका रहेछन् । पछि टेण्डर गर्ने कुरामा म्याद थपिएको रहेछ । म्याद थप भएको छ । यो अन्तिम पटक हो । असारसम्ममा सडक बनिसक्छ । क्लियर हुन्छ । पहिला हामी थुप्रै घण्टा थुनिन्थ्यौँ । अहिले घट्दै गएको छ । अब चाँढै गाडी पास हुन्छ । अब म्याद थप्नु हुँदैन । थपिँदैन पनि । अब म्याद थपियो भने ठेकेदारले पेनाल्टी तिर्नुपर्छ । यो कुरा मैले बोलेको हुँ । मन्त्रीलाई पनि यही कुरा बोल्न लगाएको छु । एमालेले मात्रै होइन एमाले नेतृत्को सरकारले नै म्याद थपिँदैन भनेर बोलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित