गृहमन्त्री बन्ने महतोको योजना तुहियो


mahatooli

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार गरेका राजपा नेपालका नेता राजेन्द्र महतोका योजनाहरू क्रमशः तुहिँदै गएका छन् । सर्लाही स्थायी बसोबास रहेपनि धनुषा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी महतोलाई ओलीले आफ्नो योजनाअनुसार प्रयोग गर्दै आएका छन् । ओलीकै विशेष सहयोगमा महतो निर्वाचित भएका हुन् ।

 राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनसँग मिलेर चुनावमा प्रतिस्पर्धा गर्ने योजना मुताबिक महतोले मंगलबार सहमति गराएका थिए । तर, उनको योजना र सहमति धेरै बेर टिक्न सकेन । सिंहदरबारमा बाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल तथा राजपा नेपालबीच भएको वार्तामा गरिएका सहमति दोस्रो वार्तासम्म पुग्दा भाँडिएको थियो ।

 महतोको डिजाइनमा दुई नं. प्रदेशमा बाम गठबन्धन र मधेस केन्द्रित दलबीच तालमेल गरेर चुनाव लड्ने तथा नेपाली कांग्रेसलाई शून्य बनाउने सहमति भएको थियो ।राजपाका नेता महतोको भित्री योजना बुझेपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरूले एमाले र माओवादी केन्द्रसँग गरेको सहमतिलाई मान्न अस्वीकार गरिदिए । महतोले आफ्नो प्रभाव पारेर एमाले–माओवादीसँग कुनै पनि सर्त नराखेर व्यक्तिगत स्वार्थका आधारमा तालमेल गर्ने सहमति गराएका थिए ।

 तर, फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरले संविधान संशोधन र सीमाङ्कनको कुरा उठाएपछि दुई कम्युनिष्ट दल एमाले–माओवादी भड्किएका हुन् । एमाले–माओवादीले मधेस केन्द्रित दलको माग अस्वीकार गरेपछि महतो एक्लिएको स्रोतको भनाई छ । एमालेको पछि लागेको माओवादी पनि पछिल्लो समय मधेस केन्द्रित दलहरूको सीमाङ्कन र संविधान संशोधन विषयबाट पछाडि हट्न थालेको छ ।

स्रोतका अनुसार महतोलाई ओलीले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानसहित गृहमन्त्री दिने आश्वासन दिएका थिए । हुन त ओलीले यसअघि माओवादीका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, संघीय फोरमका अध्यक्ष यादवसहितका नेताहरूलाई गृहमन्त्री दिने भनेर आश्वासन दिइसकेका छन् । त्यही गृहमन्त्री पद पाउने लोभमा महतोले राजपा र संघीय समाजवादी फोरमलाई भ्रममा पारेर गराएको सहमति दुई घण्टा पनि टिक्न नसकेको हो । अहिले पनि महतो मधेसका मुद्दाहरूलाई सिध्याउन एमालेसँग मिलेर जान राजपाभित्र दवाव दिँदै आएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित