साम्राज्ञीलाई बेलायतले नपत्याउँदा वर्षा अष्ट्रेलिया

काठमाडौं :

हट एण्ड हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले नपत्याउँदा ‘मिस्टर झोले’की नायिका वर्षा राउत भने अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटकफेरि प्रयास गरेकी साम्राज्ञीलाई बेलायतले पुनः भिसा दिन अस्वीकार गरेको छ । ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको छायाँकनका लागि बेलायत जान भिषा आवेदन दिएकी शाहलाई बेलायतले पत्याइरहेको छैन । हालै ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी शाहलाई बेलायतले के कारणले पत्याउन नसकेको हो त्यु बुझ्न सकिएको छ । पूरै छायाँकन बेलायतमा गरिने भनिएको यो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञीको भिसाका कारणले सुरु हुन सकेको छैन । शाह केही दिन अगाडि दोस्रो पटक भिषाका लागि भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमा रहेका छन् । यता, विभिन्न नेपाली फिल्महरूमा अभिनय गरेकी वर्षा राउत केही दिन अगाडि अष्ट्रेलिया उडेकी हुन् । सफलतामा ह्याट्रिक गरेकी वर्षाले गति समाउन सकिनन् । ‘छक्का पञ्जा’बाट प्रशंसा कमाएकी वर्षाले ‘छक्का पञ्जा २’मा उल्टै गाली खाइन् । ‘मेरो पैसा खोई’लाई दर्शकले चासै दिएनन् । न नयाँ फिल्मका अफर न रिलिजका लागि धेरै फिल्म, फुर्सदै फुर्सदमा रहेकी उनलाई ‘मिस्टर झोले’ मन बुझाउने फिल्म बन्न सक्थ्यो । वर्षा राउतले त्यसलाई मतलब नै नगरी अस्ट्रेलिया उडेकी हुन् । कलाकारले नै मतलब नगरेका फिल्मलाई दर्शकले पनि मतलब गर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित