ओली एक साता बैंककमा ,कार्यदल अन्योलमा

भक्तपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि छ सदस्यीय कार्यदल बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सो कार्यदल बनाएको एमाले नेता वामदेव गौतमले बताए ।

उनका अनुसार, कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिँदै नेता गौतमले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका बारेमा कार्यदलले काम गर्नेछ भने । उनले राजनीतिक तथा कानूनी विषयमा तयारी गरेर कार्यदलले पार्टीलाई सुझाव दिने गरी कार्यदल बनाएको बताए ।

नेता गौतमले पार्टी एकताको विषयमा कुनै शंका नगर्न आग्रह गर्दै एकतामा कुनै विवाद र विमति नरहेकाले छिट्टै पार्टी एकतालाई टुङ्गोमा पुर्याउने निष्कर्षसमेत बैठकले निकालेको बताए ।  ओली उपचारका लागि बुधबार बैंकक जाँदै छन् । उनी एक साता बैंककमा रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित