मतदाता शिक्षाको नाममा आयोगले खर्चिने रकम दलहरुलाई दिनुपर्ने सुझाव

भक्तपुर । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगले गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै मतदाता शिक्षाको जिम्मेवारी राजनीतिक दलहरुलाई दिनु पर्ने धारणा राखेका छन् ।

  हाम्राकुरा डककम र इआसिटिले सोमवार भक्तपुरमा गरेको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट मतदाता शिक्षाको नाममा हुने करोडौं रुपैया बराबरको वजेटलाई प्रभावकारी कार्यन्वयन गर्न मतदाता शिक्षाको जिम्मेवारी दलहरुलाई दिनुपर्ने तर्क राखेका हुन ।

 मतदाता शिक्षाको नाममा आयोगबाट छुट्टयाइएको वजेट दलहरु मार्फत मतदातामाझ पुर्‍याउन खर्चिनु पर्ने बताएका हुन्। भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार दमननाथ ढुंगानाले मतदाता शिक्षाको नाममा आयोगले खर्चिने रकम दलहरुलाई दिनुपर्ने सुझाव दिए । उनको सो भनाइलाई अन्य राजनीतिक दलका प्रतिनिधिहरुले सहमती जनाएका थिए । मतदाता शिक्षा प्रभावकारी नभएमा खसेको मतको ठूलो अंश बदर हुन सक्ने सम्भावना भएको उनले बताए ।

 उनले भने, ‘अहिलेसम्म मतदान गर्ने तरिकाको बारेमा सार्वजनिक भाषणहरुमा उल्लेख नगरेपनि अबका चुनावी प्रचार प्रसारमा जाँदा केही समय मतदाता शिक्षाको बारेमा जानकारी गराउन खर्च गर्छु । ’प्रत्येक उम्मेदवारहरुले कम भन्दा कम मत बदर होस भन्ने प्रयास गर्नुपर्ने उनले बताए । उनले भने, ‘मतदाता शिक्षामा हामी पछि नै छौ । यस्ता सचेतना कार्यक्रमहरु हुन आबस्यक छ ।’मत बदर हुन नदिन उम्मेदवारहरुले गर्न सक्ने काम पनि उनीहरुले गर्न नसकेको, गर्न नचाहेको गुनासो ढुंगानाले गरे । उनले भने, ‘उम्मेदवारहरुले आफनो ध्यान प्रचार प्रसारमा मात्र होइन मतदाता शिक्षामा पनि दिनु पर्छ । ’कार्यक्रममा बोल्दै भक्तपुर नेपाली काँग्रेसका सभापति दुर्लभ थापाले मतदाता शिक्षाको नाममा आयोगले खर्चिने वजेट दलहरुलाई दिन प्रस्ताव राखे ।

 दलहरुले मतदाता शिक्षा कार्यक्रम गरे भने त्यस्ता निकै प्रभावकारी हुने उनको भनाइ थियो । ‘मतदाता शिक्षाको नाममा निर्वाचन आयोगले गर्ने कार्यक्रम घर घरसम्म पुग्दैन । पुगे पने त्यो प्रभावकारी हुदैन ।’थापाले भने, ‘त्यसैले दलहरुलाई मतदाता शिक्षाको जिम्मेवारी दिइयो भने घर घरमा प्रभावकारी रुपमा पुग्छ ।’ कार्यक्रममा जिल्ला निर्वाचन कार्यलय भक्तपुरका प्रमुख उमेश राइले मतदाता शिक्षाको लागि गत कात्तीक २५/२६देखि आयोगबाट देशभर स्वयमसेवक परिचालन गरिएको र स्वयमसेबकले गर्ने कामको पनि अनुगमन गर्ने गरिएको जानकारी दिए । एउटा स्वयंसेबकले एक हजार ६४ मतदातालाई सचेतना दिनु पर्ने बाध्यता भएको उनले बताए ।

 समय अभावले पहिलो चरणको चुनावमा मतदाता शिक्षा पर्याप्त हुन नसके पनि दोश्रो चरणको चुनावमा मतदाता शिक्षा प्रभावकारी हुने उनले दावी गरे । उनले भने, ‘तर पनि मतदाता शिक्षा कार्यक्रममा हाम्रो भन्दा पनि राजनीतिक दलहरुको भुमिका महत्वपुर्ण हुन्छ । ’ मतदाता शिक्षामा अनुगमन गर्न कहिले काही आफूहरु घर घरमा पुग्ने गरे पनि मतदाताहरु राजनीतिक दलका प्रतिनिधिहरु पर्खेर बस्ने गरेको अनुभव सुनाए । ‘मतदाताहरु जसलाई भोट चाहिन्छ उनीहरु नै हामीलाई सिकाउन आउँछन । तपाईहरुले सिकाएको हामीलाई पुग्दैन भन्ने पनि गर्छन । ’उनले भने ।

 कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर २ (ख)का प्रदेश सभा उम्मेदवार गणेशमान चक्रधरले अब देखि आफू चुनाव प्रचार प्रसारसँगै मतदाता शिक्षामा पनि ध्यान दिने प्रतिबद्धता जनाए । ‘मतदाता शिक्षा पुगेन भने मत दिएर मात्र हुदैन । दिएको मत मदर हुन सक्छ,‘चक्रधरले भने, ‘त्यसैले मतदाता शिक्षा कार्यक्रम पनि उत्तीकै महत्वपुर्ण छ । ’यसैगरी नेमकिपा भक्तपुर २ (क)का प्रदेश सभा उम्मेदवार सरोजराज गोसाइले आफनो पार्टीले चुनावलाई जनताको चेतनास्तर उकास्ने अभियानको रुपमा लिएको बताए ।उनले भने ,‘हाम्रो पार्टीको उदेस्य नै मतदाता शिक्षालाई प्रभावकारी बनाउनु हो । ’

 यसैगरी भक्तपुर २का विवेकशील साझा पार्टीका प्रतिनिधि सभा उम्मेदवार शशिविक्रम कार्कीले आफनो पार्टीले चुनाव प्रचार प्रसार सँगसँगै मतदाता शिक्षालाई पनि ध्यान दिएको सुनाए ।कार्यक्रममा हाम्राकुरा डककमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीले शहरी मतदातामा पनि मतदाता शिक्षाको अभावमा धेरै मत बदर भएको बताए।

  शहरी मतदातालाई लक्षित गरि कम मत बदर गर्ने उद्धेश्यका साथ आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई अभियानका रुपमा लगेको बताए।नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले दलहरुले मतदाता शिक्षा सचेतना अभियान शुरु गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित