कम्युनिस्ट आन्दोलनमा कालो बादल मडारिएको छः वरिष्ठ नेता नेपाल

Madhab Nepal

Madhab Nepal

भक्तपुर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन् ।

नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै नेपालले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको छ भने ।

नेता नेपालले भने, ‘अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।’

असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए। पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पु¥याउने दाबी गरे ।

नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक पिपुल्स भोलियन्टर घोषणा गर्दै जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिए ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीमा सम्मानजनक एकता चाहिने बताए । उनले नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड बताए । दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ भन्दै नेता पन्तले भने, ‘लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका हौँ, हामीले नै माधव नेपाललाई त्यसो गर्न भनेका हौँ, त्यसको जिम्मा हाम्रो टिमले लिन्छ ।’ सो अवसरमा विभिन्न भ्रातृ सङ्गठनका नेताले पिपुल्स भोलियन्टरको आवश्यकता र औचित्य माथि प्रकाश पारे ।

प्रतिक्रिया

सम्बन्धित