ईश्वर पोखरेलद्वारा भाडाका ‘गुन्डा’ परिचालन गरी महतमाथि आक्रमण

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोख्रेलले पार्टीका नेता तथा कार्यकर्ता र भाडाका ‘गुन्डा’ परिचालन गरेर नेपाली कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतमाथि सांघातिक आक्रमणको प्रयास गराएका छन् ।

बुधबार साँझ करिव ६ बजे टोखा नगरपालिका वडा नं.७ का एमालेबाट निर्वाचित वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वका ७०–७५ जना ‘गुन्डा’सहितका एमालेका नेता तथा कार्यकर्ताहरूले कांग्रेसका उम्मेदवार डा.महतमाथि आक्रमण प्रयास गरेको नेपाली कांग्रेसले जनाएको छ ।

बसुन्धरास्थित विजी मार्टको माथिल्लो तलामा कांग्रेसका स्थानीय कार्यकर्ता श्री सापकोटाको कार्यालयमा बसेर चिया खाइरहेका बेला एमालेका वडाध्यक्ष मगरको नेतृत्वमा आएका एमालेका कार्यकर्ताहरूले दुरव्यवहार गरेको कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

डा।महतले मौन अवधिको पूर्णपालन गरेको बताउँदै मतदानमा खटिने नेता तथा कार्यकर्ता र बन्दोवस्तीको तयारीका विषयमा छलफल गर्न आएका बेला एमालेका नेता तथा कार्यकर्ता र गुन्डाहरू परिचालन गरेर आफूमाथि सांघातिक आक्रमणको प्रयास गरेको आरोप लगाए ।

पार्टीको चुनावी तयारीका विषयमा कुराकनी चलिरहेका बेला एमालेका नेता तथा कार्यकर्ता र भाडाका गुन्डाहरूले घोराहालेर अभद्र व्यवहार गरेको डा.महतले बताए । भिडको नेतृत्व गरेर आएका मगरले पैसा बाँडेको सूचनाका आधारमा कांग्रेसका डा।महतमाथि कारबाही गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित