७–१ को फराकिलो गोल अन्तरले बार्सिलोना विजयी

काठमाडौं : दुई दिन अघि उसैको मैदानमा रियल म्याड्रिडविरुद्ध ‘अल क्लासिको’ भिडन्त आफ्नो पक्षमा पारेको बार्सिलोनाले विहिबार विहान भएको खेलमा ओसासुनालाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । अल क्लासिको भिडन्तमा २ गोल गरेका बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले दुई दिनपछि अर्को दुई गोल गरेका छन्। आफ्नो घरेलु मैदान क्याम्प नोउमा भएको यस खेलमा मेसीले १२ र ६१ मिनेटमा गोल गरेपछि बार्सिलोना ७–१ गोलले विजयी भयो। यो जितसँगै ला लिगामा ३४ खेल खेलेको क्याटलान क्लबले म्याड्रिडसँगको दुरीलाई ३ अंकले अगाडि राख्न सफल भएको छ। बार्सिलोना ७८ अंकका साथ शीर्ष स्थानमा छ। पहिलो हाफमा २ गोल मात्र गरेको बार्सिलोनाले मध्यान्तरपछि ५ गोल थपेको थियो। मेसीबाहेक आन्द्रे गोमेज (३०, ५७) र पाको अल्कासर(९६४, ८६) ले पनि २–२ गोल गरेका थिए। एक गोल ६७ मिनेटमा पेनाल्टीबाट जाभियर मास्चेरानोले गरेका थिए। ओसासुनाबाट एक मात्र गोल ४९ मिनेटमा रोबेर्टो टोरेसले गरेका थिए। आजको खेलमा लुइस सुआरेज बेञ्जमा बसेका थिए। नेइमार निलम्बनका कारण खेलमा उपस्थित थिएनन्। मेसीलाई पनि दुई गोल गरेपछि प्रशिक्षक लुइस एनरिकले ६३ मिनेटमा बाहिर बोलाएका थिए। बार्सिलोनासँग ७ गोल खाएको ओसासुना लगभग रेलिगेशनमा परेको छ। ओसासुनाको ३४ खेलबाट १८ अंक मात्र छ। रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि रहेको लेगानेसको ३० अंक छ र ओसासुना यो क्लबभन्दा १२ अंकले तल छ। ओसासुनाले यो सिजन ४ खेल खेल्न मात्र बाँकी छ। उसले यी ४ वटा खेल जित्यो भने पनि उसको ३० अंक मात्र हुन्छ। गोलअन्तरदेखि सबै कुरामा ऊ लेगानेसभन्दा तल छ। त्यसैले विहिबार बिहान बार्सिलोनाबाट ७–१ को पराजय भोग्नु नै यो क्लबका लागि दुःखद अन्त्य हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित