अन्यौलताबीच यसपालिको तीजको दर !

Teej_Dar

Teej_Dar

काठमाडौं । बिहीबार तीजको दर खाने दिन । बढ्दो कोरोना संक्रमितसँगै उपत्यकामा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन । समुदायस्तरमा पुगेको कोरोना भाइरस संक्रमणका कारण उपत्यकामा घोषणा गरिएको निषेधाज्ञाबीच तीजको दर खाने दिनमा सर्वसाधारणमा अन्यौलता देखिएको थियो ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले राती १२ बजेदेखि निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा बिहानदेखि नै हरेक क्षेत्र बन्द रहेका देखिन्थे । यसअघिका लकडाउनमा खुलेका खाद्यान्न र तरकारी पसलहरु पनि यसपटक बन्द भएपछि उपत्यकाबासी अन्यौलमा परेका हुन् ।

तीजको अघिल्लो दिन दरखाने दिनदेखि सुरु भएको निषेधाज्ञाका कारण अधिकांशले अघिल्लो पटकको जस्तै लकडाउन होला भन्ने सोचेका थिए । जसमा बिहान चोकचोकमा तरकारी पसलहरु खुलेका हुन्थे भने खाद्यान्नलगायत दूधपसलहरु दिउँसोमा पनि खुलेका थिए ।

सधैं भीडभाड रहने मैतीदेवी चोक, बानेश्वर चोक, शान्तिनगरलगायतका स्थानमा देखिने तरकारी व्यापारीहरु थिएनन् सडकमा । सर्वसाधारणहरु तरकारी किन्ने झोला लिएर चोकसम्म पुगेका देखिन्थे, तर सुरक्षाकर्मीको केरकारसँगै खालीहात घर फर्किरहेका थिए ।

मैतीदेवीमा तरकारी किन्न भनेर हिँडेका एक स्थानीयले भने, ‘तीजको दर खाने दिन, केही तरकारी छैन, पहिलाको जस्तै होला भनेर हिजो ल्याइएन, आज के तरकारी खाने हो थाहा छैन ।’

निषेधाज्ञाको घोषणा गरेको सूचना जारी गरेको सूचनामा सरकारले तरकारी र खाद्यान्न, दूधलगायतका सवारीलाई नरोकिने बताए पनि ती पसलहरुका बारेमा स्पष्ट नपारिँदा सर्वसाधारणमा अन्यौलता देखिएको थियो । सूचनामा सवारी साधनलाई प्रमुखता दिइएको जस्तो थियो ।

उपत्यकाका अधिकांश पसलहरु बिहानैदेखि बन्द रहेका थिए । कुनै कुनै क्षेत्रमा दूग्धजन्य पसल र तरकारीका पसलहरुले आधा सटर खोलेका देखिए पनि अधिकांश खाद्यान्नलगायतका पसलहरु बन्द रहेका थिए ।

सूचनामा विशेषगरी सवारीसाधनलाई ‘फोकस’ गरिएपनि पसलहरुका बारेमा भने स्पष्ट खुलाइएको थिए । त्यस्तै बैंक, सञ्चारकर्मीलगायतका सूचनामा पनि अन्यौलता देखिएको थियो । फलस्वरुप बैंकका कर्मचारीलाई सुरक्षाकर्मीले रोकपछि बैंकर्स एसोसिएसनले बैंकका सबै शाखा बन्द गर्ने घोषणा ग¥यो । त्यसको फलस्वरुप प्रहरीले बैंकका कर्मचारीलाई परिचयपत्रका आधारमा नरोकिने बताएको छ ।

त्यस्तै सूचना संकलनका लागि कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई सञ्चार सेवाको नाममा नरोकिने जनाइरहेका बेला सञ्चार क्षेत्रको आधिकारिक निकाय सूचना तथा प्रशारण विभागले ‘बन्दाबन्दीमा जारी गरेका सवारी पासबाट’ सवारी चलाउन पाइने घोषणा गरेसँगै थप अन्यौलता देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित