'शुभसाइत'बाट सुरु भएको आइजीको 'यात्रा' सफल बनोस् !

Back

Back

 

कोरोना महामारी र राजनीतिक विवादबीच देशको सबैभन्दा सफल र सक्षम संगठनको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् नवनियुक्त प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री । यसअघिका २७ जना प्रहरी महानिरीक्षकभन्दा फरक तरिकाले संगठनको नेतृत्व सम्हाल्न आएका क्षेत्रीका सामू प्राकृतिक विनाश र राजनीतिक अस्थिरताका बाबजुद मुलकको सम्प्रभुता बचाउने अभिभारा पनि देखिएको छ ।

नेतृत्वका लागि सर्वोच्च न्यायपालिकाको ढोका ढकढक्याउने अग्रजहरु अटाएको संगठनमा नेतृत्वका लागि मुख्य प्रतिस्पर्धीको पूर्ण साथ पाउनु क्षेत्रीका लागि ‘शुभसाइत’ देखिन्छ । यदि उनका हिजोसम्मका एउटै गन्तव्यका प्रतिस्पर्धी र आजदेखिका उनैले नेतृत्व गरेका संगठनका अफिसर प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले पनि केही अग्रजले जस्तै न्यायालयको ढोका ढक्ढक्याएको भए, क्षेत्री अहिले बिरुवा रोप्ने होइन, विरुवालाई पानी हाल्दै बसिरहेका भेटिन्थे होला । तर, शिखरको टुप्पो भनेको एउटा बिन्दु मात्रै हुन्छ भन्ने राम्रोसँग बुझेका एआईजी पालको व्यावसायिकता नै संगठनमा क्षेत्रीको नेतृत्व र आगामी दिनमा उनको कार्य सञ्चालन सहज र सफल बन्ने देखिन्छ ।

छिमेकी मुलुक भारतले सीमा विवादपछि अनर्गल प्रचारबाजी गरिरहेको अवस्थामा मुलुक र मुलुकका जनताको हितका लागि सबैभन्दा पहिलो साक्षी बन्ने सञ्जालसहितको संगठनको जिम्मेवारी सम्हाल्दै गर्दा क्षेत्रीसामू चुनौती सँगै अवसर पनि देखिएको छ ।

सबैभन्दा पहिला संगठनभित्रकै व्यावसायिकता एवं शुद्धतालाई प्रमुख प्राथमिकता दिनुपर्ने अवस्था रहेको यस परिवेशमा क्षेत्रीसामू संगठनका केही सदस्यहरुले गरेका ‘निकृष्ट’ कामलाई हतोत्साही गर्ने देखि लिएर केहीले गरेका ‘उत्कृष्ट’ कामलाई प्रोत्साहित गरिनु अनिवार्य देखिन्छ ।

caption copy

caption copy

यहाँ, ‘निकृष्ट’ भन्नाले उनी महानिरीक्षकमा बढुवा भएकै दिन बाहिरिएको रुकुम आठबिसकोटको घटना होस् वा केही समयअघि रुकुमकै चौरजहारीमा मूकदर्शक बनेको प्रहरी होस्, त्यस्ता घटनामा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न रहनेमाथिको राजनीतिक दबाबबिना कानुनको परिधिमा रही कारबाहीका लागि ‘अर्डर’ दिने हिम्मत राख्नुपर्दछ ।

त्यस्तै क्षेत्रीले विश्व नै कोरोना महामारीको चपेटामा रहेको यस परिवेशमा एकातिर रोगको डर, अर्कोतिर घरपरिवारसँगको सामिप्यता महसुस गर्न आतुर हुँदाहुँदै पनि क्वारेन्टिनमा बसेर दिन कटाईरहेका सर्वसाधारणको मनोरञ्जनका लागि पाल्पामा एक जवानले खेलेको भूमिकालाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

क्षेत्रीले यी र यस्ता प्रतिनिधि घटनासँगै विगतमा संगठनमाथि लाग्दै आएका दागलाई मेट्नु र राम्रा कामलाई निरन्तरता दिनु नै प्रमुख दायित्व, चुनौती र अवसर सँगसँगै देखिन्छ ।

महामारीका कारण करिब चार महिनादेखि लकडाउनमा बसिरहेका नेपालीहरुलाई हरेक तवरबाट सुरक्षित महसुस गराउनुपर्ने संगठनको नेतृत्वको पदलबहाली गरेकै दिन प्राकृतिक प्रकोपले क्षेत्रीलाई ‘काम’ गर्ने चुनौती दिएको छ, जुन आगामी दिनमा मौसमका कारणले आउनसक्ने यस्तै प्रकोपमा ‘काम’ देखाउने अवसर पनि बन्न सक्दछ ।

प्रतिक्रिया

सम्बन्धित