लकडाउनअवधिमा २ सयभन्दा बढी नेपालीको शव खाडी मुलुकमै अड्कियो

बहराइनमा ज्यान गुमाएका गुल्मीको मदानी गाउँपालिकाका २९ वर्षीय मीनबहादुर केसी (लम्साल)को परिवारले त्यही उनको अन्तिम संस्कार गर्न सहमति दिएका छन्।
वैदेशिक रोजगारीमा रहेका केसी बैसाख २० होटलको पौडी पोखरीमा डुबेको अवस्थामा मृत भेटिएका थिए।
उनको शव नेपाल ल्याउन लामो प्रयास असफल भएपछिु उनका परिवार उतै अन्तिम संस्कारका लागि सहमति दिन बाध्य भए।
लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान रोकिएको र खुलेपछि पनि लामो समयसम्म कुर्नुपर्ने अवस्था भएको हुँदा त्यस्तो निर्णय गर्नुपरेको उनीहरूले बताएका छन्।
काका कमल लम्सालले भने, 'एकातिर मृत्यु र अर्कोतिर शव ल्याउने मितिमा अन्यौल देखिएकाले परिवारमा उत्पन्न दोहोरो पीडाका कारण उतै विधिपूर्वक अन्त्येष्टि गर्न अनुमति दिएका हौ।'
अविवाहित रहेका केसीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएपछि अन्य कामदारसहित क्वारन्टीनका लागि होटलमा राखिएको बहाराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूतावासले अन्तर्राष्ट्रिय प्रचलन अनुसार स्वास्थ्य सुरक्षाका दृष्टिकोणले शव नेपाल लैजान नमिल्ने बताउँदै बहराइनमै अन्त्येष्टि गर्न पारिवारको सहमति मागेको जनाएको छ।
लकडाउनको अवधिमा विभिन्न कारणले खाडी मुलुकमा ज्यान गुमाएका नेपाली श्रमिकको सङ्ख्या २३८ पुगेको छ। तीमध्ये १२ जना महिला छन्।कतिपयको मृत्युको स्पष्ट कारण खुल्न बाँकी रहेको बताइएको छ।
वैदेशिक रोजगार बोर्डका अनुसार गन्तव्य मुलुकमै अन्त्येष्टि गर्नका मृतकका पारिवारसँग सहमतिका लागि आग्रह गरिएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार हालसम्म ९० जना मृतक कामदारका आफन्तले उतै अन्त्येष्टि गर्नका लागि सहमति दिएका छन्।
उनले भने, 'वर्तमान महामारीको बेलामा गन्तव्य मुलुकमै अन्तिम संस्कार गर्न मृतकका परिवारको सहमति आउने क्रम बढ्दो छ।' तर नेपालमै शव ल्याउन माग भएमा हामी प्राथमिकतामा राखेर शव ल्याउने छौँ।' तर त्यसका लागि कति समय कुर्नुपर्छ भन्ने बारेमा अहिल्यै यकिन गर्न नसकिने श्रेष्ठले बताए।
खाडी मुलुकमा ज्यान गुमाएका केही व्यक्तिको कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएपनि अधिकांशले मुटुसम्बन्धी रोग, दुर्घटना र आत्महत्याका कारण ज्यान गुमाएका बताइएको छ।
बोर्डका अनुसार मलेशियामा ५२ जनाको, साउदी अरबमा ५८ जनाको, यूएईमा ५५ जनाको, कतारमा ३७ जनाको, कुवेतमा ११ जनाको, बहराइनमा सात जनाको र दक्षिण कोरियामा पाँच जनाको ज्यान गएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले भने, 'महामारीका कारणले स्वदेश फर्कन चाहने नेपाली श्रमिकलाई विदेशबाट ल्याउँदा ती देशमा रहेका शवलाई पनि ल्याउने तयारी छ।'
अन्तर्राष्ट्रिय उडान सुचारू भएपछि हप्ताको कम्तीमा एउटा र बढीमा १० वटासम्म शव ल्याउने बोर्डको भनाइ छ।त्यसरी ल्याइने शवलाई पूर्ण सुरक्षित ढङ्गले मृतकको घरसम्मै पुर्याउने कार्ययोजना तय भएको बोर्डले बताएको छ।
सरकारी तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले वैदेशिक गन्तव्यमा ज्यान जाने गरेको छ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा कामदारहरूले आफ्नो कामको प्रकृति अनुसार स्वास्थ्यमा ध्यान पुर्याउन नसक्दा मृत्युका घटनाहरू बढेको बताइन्छ।
खानपानको असन्तुलन, कामको चाप र आवश्यक आराम नपुग्दा उनीहरूमा मुटु, मिर्गौला र फोक्सोको समस्या धेरै पाइने गरेको छ। -बीबीसी
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_LvFLN4w6aJ_8ucxw9x2a7inqzak1zd6vcrcgmt3nkefbewjwz8lceb0xyuxmfcnl2ccpwrv.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_99Z22QdqNn_wz0j6ns1p7eiyzj8eh9tjz3xpa18knqtheq4oasn0vducwn6dhnjpgessowt.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_yhppxpteG0_0vy2ipchpn7j7pqthymu4ezc1mesndxevrfogwurczpaxr4pkeyvlbrawvan.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया