विश्वभर करिब ५४ लाख संक्रमित, ३ लाख ४३ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या करिब ५४ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ५३ लाख ९७ हजार ८ सय २७ संक्रमित देखिएका छन् भने ३ लाख ४३ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ । विस्तारै कोरोना भाइरसबाट निको हुनेको संख्या पछि बढ्दै गइरहेको छ । हालसम्म २२ लाख ४४ हजार ८ सय ३१ जना उपचार पछि घर फर्किसकेका छन् ।

विश्वभर पछिल्लो २४ घन्टामा ९९ हजार ८ सय १५ जना नयाँ संक्रमित देखिएका छन् भने ४ हजार १ सय ७१ जनाको मृत्यु भएको जनाइएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ । हालसम्म अमेरिकामा १६ लाख ६६ हजार ८ सय ८२ जना संक्रमित देखिएका छन् भने ९८ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार २६ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा ब्राजिल कोरोनाका कारण चपेटामा परेको छ । अमेरिका पछि ब्राजिलमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । ब्राजिलमा हालसम्म ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित देखिएका छन् भने २२ हजार १३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै रसियामा हालसम्म ३ लाख ३५ हजार ८ सय ८२ जना संक्रमित देखिएका छन् भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

रसियापछि संक्रमित धेरै हुने मुलुकमा, स्पेन, युके, इटली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु, क्यानडा र चीन रहेका छन् ।

नेपालको छिमेकी राष्ट्र भारतमा १ लाख ३१ हजार ४ सय २३ जना संक्रमित देखिएका छन् भने ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित