नेपाल प्रवेश गरि क्वारेन्टाइन बसिसकेका २१ जनालाई सशस्त्रले दशगजा पुर्यायो

banke

बाँके । भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका २१ जनालाई सशस्त्र प्रहरीले दशगजा पुर्याएको छ । भारतका विभिन्नस्थानबाट लुकिछिपी बाँकेको नरैनापुर आएका २१ जना नेपालीलाई सशस्त्र प्रहरीले आदर्श मावि लक्ष्मणपुरस्थित क्वारेन्टाइनबाटै उठाएर दशगजा क्षेत्रमा पुर्याएको हो ।

कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किएको जनाइएको छ ।

‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ ।’

भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए ।

कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए। ‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन । हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ । उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित