कोरोनाको कहर चर्को, घर फर्कनेको लर्को

Kausaltar-majdur-7
काठमाडौं ।
बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दूधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्‍याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतिक्षामा थिए ।

 ५ हजारभन्दा बढी मानिस घर जानका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म लामबद्ध थिए ।

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले भने सामाजिक दूरी कायम गरी घर जान आग्रह गरेका थिए । ‘सबै घर जान पाउनुहुन्छ, नआत्तिईकन जानुस्, तपाईंहरूकै लागि हो’ भन्दै उनी सबैलाई सम्झाउँदै थिए ।

बन्दाबन्दीका कारण मजदुरलाई धेरै गाह्रो भएको प्रतिक्रिया दिँदै उनले भने, ‘मानिसको भीडले सामाजिक दूरी कायम गर्न पनि हम्मे भएको छ । ५० देखि ६० वटा गाडी छन् होला, सबैलाई मिलाएर घर पठाउँछौँ ।’

यो भीड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडीबुटी क्षेत्रमा पुगेको थियो । ५ महिनाको दुधे बालक बोक्दै भीडमा पुगेकी ललिता थामी भन्दै थिइन्, ‘दोलखा हिँडेको, गाडी त आउँछ होला नि । आएन भने तनाव हुन्छ ।’

उनलाई गाडी कति बेला आउँछ भन्ने थाहा थिएन । तर, स्थानीय जनप्रतिनिधिले नै भनेकाले आउँछ होला भन्ने विश्वास थियो ।

‘हामीलाई त वडाध्यक्षले लोकन्थलीमा गाडी आउँछ, जानू भन्नुभएको हो’ रामेछापका प्रवीणकुमार मगरले भने, ‘साँझ ७ बजेसम्ममा आइपुग्छ भनेको हो ।’

लोकन्थली क्षेत्रमा पुग्नेमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका बासिन्दा थिए । रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा बस्दै आएका उनीहरू बन्दाबन्दी लम्बिएपछि घर फर्किन चाहे पनि गाडी नपाएर रोकिएका थिए ।

(गोरखापत्र दैनिक)

 

प्रतिक्रिया

सम्बन्धित