राहतका लागि आहातः दुई दिनसम्म खाद्यान्नको लाइनमा बस्दा बस्दै ज्यान गयो...

indai-d

indai-d

नयाँदिल्ली । भारतको उत्तरप्रदेशको खाद्यान्नको एक पसलमा लाइन बस्दै गरेकी एक महिलाको ज्यान गएको छ । उत्तर प्रदेशको बदायूूं जिल्लाको सरकारी खाद्यान्न पसलमा खाद्यान्नका लागि लाइन बस्दाबस्दै समिम बानो नामकी महिलाको शुक्रबार मृत्यु भएको हो ।

मृतक बानो दुई दिनदेखि खाद्यान्नका लागि लाइनमा बस्दै पसल नजिकै आइपुगेकी थिइन् । पहिलोदिन दिनभरि लाइन बस्दा खेरी पालो नआएपछि उनी शुक्रबार बिहान पनि ८ बजेदेखि लाइन बसेकी थिइन् । तर उनको खाद्यन्नको लिनका लागि पालो नआईपुग्दै मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युको कारण हालसम्म स्पष्ट नभए पनि हर्ट अट्याकका कारणले मृत्यु भएको अनुमान गरिएको छ । उनी ११ बजेतिर लाइनमा बस्दा बस्दै अचानक बेहोस् भई ढलेकी थिइन् । त्यसपछि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

त्यसपछि सो केन्द्रमा खाद्यान्न वितरण कार्य रोकिएको र घटनाको छानबिन भईरहेको जनाइएको छ । स्रोतका अनुसार उक्त केन्द्रमा खाद्यान्न वितरण कार्य अत्यन्तै ढिलो भएको जनाइएको छ ।

दोस्रो दिन लाइन बसेकी बानो करिब ३०/३५ जना मानिसभन्दा पछाडी लाइनमा थिइन् । वितरणका लागि सामाजिक दूरी कायम गर्दै संयमता अपनाउनुपरेकाले वितरण कार्यमा ढिलाई भएको अधिकारीहरुले जनाएका थिए । उनीहरुले एकदिनमा ३५ देखि ४० जनालाई मात्र खाद्यान्न बाँडिदै आएको जनाएका थिए । शुक्रबार बिहान ३ घन्टामा जम्मा १० जनालाई राहत बाँडिएको पनि जनाइएको छ । -बीबीसीहिन्दी

 

प्रतिक्रिया

सम्बन्धित