लकडाउनमा सडक निरीक्षण भन्दै सरकारी सवारीको दुरुपयोग

Anna_Mustang

जोमसोम । उपल्लो मुस्ताङस्थित लोमान्थाङ-५ का युवाले बुधबार २ वटा सरकारी गाडी रोकेका छन्। लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरेर चलाएको भन्दै युवाले कालिगण्डकी करिडोर, बेनी/जोमसोम/कोरला सडक आयोजनाको २ वटा सरकारी गाडीलाई लोमान्थाङबाटै फर्काएका हुन्।

बुधबार करिडोर सडकको उक्त २ वटा गाडी म्याग्दीको तातोपानीबाट उपल्लो मुस्ताङको उत्तरी कोरलानाका जान लागेको थियो। युवाले करिडोरको सरकारी गाडीले लकडाउनको अवज्ञा गरेको भन्दै लोमान्थाङबाट फर्काई दिएका छन्। 

सडक गाडी माथि आउदै गरेको सूचना पाएपछि लोमान्थाङ बजारमा भेला भएका युवाले उक्त गाडी बजारक्षेत्र प्रवेश गर्न नदिएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए। विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले एकसाता अघि गरेको लकडाउन कार्यान्वयन गराउन करिडोर सडकको गाडी रोकिएको उनले बताए।

लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले अति आवश्यक  सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताए। उनले सरकारी गाडीमाथि आउदै गरेको जानकारी भएपनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गरे। 

लोमान्थाङ–५ का वडाअध्यक्ष नवाङकुङ्गा लामाले सरकारी गाडीले बैमौसममा सडक निरीक्षण गर्न जानु लकडाउनको दुरुपयोग भएको बताए। 

म्याग्दीबाट सडक निरीक्षण भन्दै लकडाउनका बेला कोरलानाका जान लागेको २ वटा गाडीमा ७ जना व्यक्ति थिए। सडक निरीक्षणमा आयोजना प्रमुख  अशोक तिवारी ,इन्जिनीयरलगायत अन्य गैर व्यक्ति पनि भएको स्थानीयले बताएका छन्। -अन्नपूर्ण पाेस्ट्बाट

प्रतिक्रिया

सम्बन्धित