घैंटेको लगानी रहेको कम्पनी कालोसूचीमा

काठमाडौं । कर्जा सूचना केन्द्रले ठूला र चर्चित भनिएका व्यवसायीसहित प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ को अदृश्य लगानी रहेको कम्पनीलाई कालोसूचीमा राखेको छ । केन्द्रले सार्वजनिक गरेको पछिल्लो कालोसूचीमा एयर एसिया प्रालिको जनरल सेल्स एजेन्ट (जीएए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका सञ्चालक समिति अध्यक्ष हरिमान लामासहित अन्य सञ्चालक परेका छन् ।

एयर एसियामा घैंटेले ५० लाख भन्दा बढि रकम लगानी गरेको इन्काउन्टरपछि खुलेको थियो । तर, लामाले भने उक्त कुरालाई अस्वीकार गर्दै आएका छन् । लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा पनि कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

त्यसैगरी मुलुककै नमूनाको रुपमा निर्माणाधीन काठमाडौं भ्यूटावरका ठेकेदार जलेश्वर स्वच्छन्द बिकोई प्रालिका अध्यक्ष मनोजकुमार भेटवाल र सोही कम्पनीका अर्का सञ्चालक भैरवप्रसाद भेटवालसमेत कालोसूचीमा परेका छन् । उनीहरुलाई केन्द्रले गत असोज ६ गते कालोसूचीमा राखेको हो । उनीहरु केन्द्रको सि.नं. ५५२७ र कालोसूची नम्बर ८४९१ मा रहेका छन् । वि.सं. २०४७ सालदेखि शुरु भएको कालोसूचीमा केन्द्रले हालसम्म ५ हजार ७ सय ८९ जनालाई कालोसूचीमा राखेको छ । पहिलो वर्ष २०४७ सालमा ८५ जना कालोसूचीमा परेका थिए । यस वर्ष अहिलेसम्म ७४६ जना कालोसूचीमा परेका छन् । गत वर्ष ६ सय ३९ जनालाई केन्द्रको कालोसूचीमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित