आर्टशाला नेपालले शताब्दी पुरुष स्वं सत्यमोहन जोशीको कलाकृती प्रस्तुत गर्दै


काठमाडौ । 
कलायात्रा २०८१को दोस्रो संस्करणमा आर्टशाला नेपालले स्वं संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको कलाकृती प्रस्तुत गर्ने भएको छ । आज आर्टशाला नेपालले अफिसियल फेसबुक मार्पmत आगामी श्रृंखलाको कलायात्रा २०८१को संस्करणमा संस्कृतिविद् एवम् शताब्दी पुरुष स्वं सत्यमोहन जोशीको कलाकृती सार्बजनिक गर्ने जनाएको हो । कार्यक्रममा संस्कृतिविद् एवम् शताब्दी पुरुष स्वं सत्यमोहन जोशीले आर्टशाला नेपालले बिकास गरेको ललितपुरको इमाडोलमा रहेको नेपालको पहिलो  थ्रि डि आर्ट म्युजियम भ्रमणका क्रममा बनाएको चित्र प्रस्तुत गर्न लागिएको आर्टशाला नेपालले जनाएको छ । 

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित