व्यवसायीहरूको हकहितका लागि मेरो उम्मेदवारी

विमल ढकाल, अध्यक्षका प्रत्यासी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आउन केही दिन मात्रै बाँकी छ । संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूले विमल ढकालको नेतृत्वमा प्यालन मैदानमा उतारेका छन् । विमल ढकाल यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए । उनको कार्यकाल धेरै हदसम्म सफल रहेको दाबी गरिन्छ । कांग्रेस निकट व्यवसायीहरूको संगठन वैदेशिक रोजगार व्यवसायी फोरमले यसपटक पनि ढकाललाई अध्यक्षमा टिकट दिएको हो । फोरमभित्र अध्यक्षको टिकटलाई लिएर केही असन्तुष्टि पनि थिए । तर, अन्तिम चरणमा सबै असहमति, असन्तुष्टि र समस्यालाई समाधान गरेका बताइन्छ । सोही विषयमा mynewsnepal.com का लागि वैदेशिक रोजगार व्यवसायी संघमा दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका ढकालसँग गरिएको कुराकानी  :

० तपाईको प्यानललाई किन मतदान गर्ने ? – वैदेशिक रोजगार व्यवसायी र कामदारलाई व्यवस्थित र मर्यादित बनाउन म पहिला पनि सक्रिय थिएँ । अर्को कार्यकालका लागि पनि म त्यही विषयलाई ध्यानमा राखेर अध्यक्षमा उम्मेदवारी दिएको हुँ । म मात्र होइन मेरो प्यानलमा रहेका सबै व्यवसायी साथीहरू हाम्रो व्यवसायको हकहितका लागि केन्द्रित हुनु हुनेछ ।

० निर्वाचनमा तपाईको एजेण्डा के–के छन् ? – वैदेशिक रोजगार ऐन २०६४ परिमार्जनको अन्तिम तयारीमा छ । श्रम मन्त्रालयले त्यसका लागि गृहकार्य गरिरहेको छ । हामीले त्यसमा सहयोग गरिरहाका छौं । यो ऐन परिमार्जन भएर आयो भने व्यवसायी र कामदारको पक्षमा हुनेछ । त्यसमा मेरो ध्यान केन्द्रित । वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि सिण्डिकेट कायम रहेको छ । त्यो सिण्डिकेट हटाउन म लागि रहेको छ । हाम्रो टिम लागि रहेको छ । सिण्डिकेट कुनै पनि हालतमा हटाउने छौं । सिण्डिकेटले गर्दा सीमित व्यवसायीलाई मात्रै फाइदा भएको छ । त्यसले गर्दा अन्य व्यवसायी र कामदारलाई बेफाइदा भएको छ । प्रतिस्पर्धाको जमानामा सिण्डिकेटलाई कुनै पनि हालतमा हटाइनेछ ।

० तपाई अघिल्लो कार्यकालमा पनि अध्यक्ष हुनुहन्थ्यो । सिण्डिकेट हटाउनु पहल गर्नु भएन ? – किन नगर्नु । सिण्डिकेट हटाउन ठूलो प्रयास गरेका थियौं । हामीहरू सिण्डिकेट हटाउन र त्यसको अन्त्यका लागि नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र परराष्ट्र मन्त्रालयसम्म पुग्यौं । हाम्रो मागको प्रारम्भीक सुनुवाई भए पनि पूरै कार्यान्वयन भएको छैन । अब त्यसलाई अन्त्य गर्ने छौं ।

० वैदेशिक रोजगारीमा सिण्डिकेट के–केमा छ ? – हरेक क्षेत्रमा सिण्डिकेट छ । श्रम मन्त्रालयदेखि कामदार पठाउने देशसम्म सिण्डिकेट छ । सिण्डिकेटका कारण थोरै मात्रै व्यवसायी फाइदामा छन् । कामदारहरू कर्मामा परेका छन् ।

० वैदेशिक रोजगार व्यवसायी र कामदारबीच किन सुमधुर सम्बन्ध हुन सकेन ? – धेरै तिक्तता छैन । केही समस्या आउने गरेका छन् । त्यसलाई हामी व्यवसायीहरू मिलेर मिलाउने गरेका छौं । सकेसम्म व्यवसायी र कामदार कसैलाई पनि समस्या नओस् भन्ने पक्षमा रहन्छौं ।

० सधै व्यवसायीहरूले कामदारलाई ठग्ने गर्छन् भन्ने गुनासाहरू आइरहन्छ नि किन ? – व्यवसायमा राम्रा–नराम्रा दुबै प्रकारका समस्या हुन्छन् । यो व्यवसायमा केही कठिनाइहरू पनि छन् । काम गर्दै जाँदा हुने गरेका समस्यालाई समाधान गरिरहेका छौं । जहाँसम्म कामदारलाई ठगेको कुराको गुनासाहरू आइरहेका छन् । अहिले त्यस्ता गुनासाहरूमा धेरै कमी आएको छ । पहिला जस्तो छैन । अब व्यवसायी र कामदार दुबै सजग छन् । अपबादलाई छाडेर व्यवासयीहरूले कामदारहरूलाई ठगेको भन्न मिल्दैन ।

० फ्रि भिसा र फ्रि टिकटको सरकारी निर्णयलाई तपाईहरूले सहयोग गर्नु भएन है ? – सहयोग गरेका छौँ । सरकारले हतारमा तयारी नै नगरेर फ्रि भिसा र फ्रि टिकटको निर्णय ग¥यो । त्यसले गर्दा समस्या आएको हो । दस हजारमा कामदारलाई पठाउन नसकिने होइन सकिन्छ । तर, सरकारले पनि सहयोग गर्नु पर्छ नि । सबै कुरा व्यवसायीलाई मात्रै दोष देखाएर हुन्छ र ?

० फ्रि भिसा र फ्रि टिकटको सरकारी निर्णय कार्यान्वयनको विषय तपाईको एजेण्डामा यस पटक परेन है ? – एजेण्डामा पर्ने नपर्ने कुरा होइन । फ्रि भिसा र फ्रि टिकटको निर्णय कार्यान्वयन होस् भन्ने पक्षमा हामी पनि छौँ । त्यसमा भएका केही त्रुटिलाई हटाइनु पर्छ । सरकारले व्यवसायीहरूका समस्यालाई पनि बुझ्नु पर्छ । हतारमा लागू गरेको निर्णय हामीले कसरी कार्यान्वयन गर्ने ? समस्या छ नि फ्रि भिसा र फ्रि टिकटको विषयमा । समस्या समाधान गर्न श्रम मन्त्रालयले कार्यदल बनाएको छ । व्यवसायीहरूसँग सरसल्लाह लिइरहेको छ । एउटा सुझाव आउनेछ । त्यसबाट हल निस्कन्छ भन्ने मैले ठानेको छु ।

० तपाईहरूले पठाउने कामदारहरूले विदेशमा आफूहरूलाई सुरक्षित ठान्दैनन् किन हो नि ? – असुरक्षित महसुस गर्नु पर्ने कुनै कारण हुँदैन । हामीले सम्बन्धित देशसँगको श्रम सम्झौताअनुसार कामदारलाई पठाउने हो । डराउनु पर्ने अवस्था छैन । कामदार जाने मुलुकहरूमा नेपाली दूतावास हुन्छन् । समस्या प¥यो भने त्यहाँ गएर सहयोग लिन सकिन्छ ।

० तपाईहरूको यो प्यानलभित्रै विवाद छ रे नि हो ? – कुनै विवाद छैन । सहमतिमा प्यानल घोषणा गरिएको हो । हेर्दै जानुस् हाम्रो प्यानलले अत्याधिक मतसहित जित्नेछ । हाम्रा वरिष्ठ रोजगार व्यवसायीहरूको समर्थन छ ।

० तपाईहरूको प्यानल समावेशी छ कि छैन ? – हाम्रो प्यानल समावेशी छ । सबैलाई समेटेर उम्मेदवारी दिएका छौं । चुनावी प्रचार प्रसार गरिरहेका छौं ।

० तपाईले जित्नु भयो भने दोस्रो कार्यकालमा व्यवसायीहरूको हितमा काम गर्नु हुन्छ भन्ने ज्ञारेन्टी के छ ? – मैले पहिला पनि व्यवसायी र कामदारहरूको हकहितमा काम गरेको हुँ । दोस्रो कार्यकालका लागि निर्वाचन भएँ भने पनि इमान्दारिताका साथ काम गर्नेछु । मेरो काममा आशंका गर्नु पर्ने कारण छैन । व्यवसायी साथीहरूलाई सोध्नुस् मैले के–के काम गरे भन्ने कुरा उहाँहरूले आफै भन्नु हुनेछ ।

० तपाईले दोहोर्याएर अध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहन्छ । यसबाट तपाईकै धेरै साथीहरू रिसाएका छन् भन्ने सुनिन्छ ? – होइन त्यस्तो केही छैन । हामी सबैसँग सम्पर्कमा छौं । एक्लो व्यक्तिले केही गर्ने होइन । मलाई सबै साथीहरूको साथ चाहिन्छ । सबैको सहयोग भयो भने मात्रै म सफल हुने हो । त्यस कारण कोही साथीहरूमा असन्तुष्टि छैन । भएका कुरा मिलाइ सकेको कुरा मैले तपाईलाई पहिला नै भनि सकेको छु ।

० तपाईले कांग्रेस निकटका व्यवसायीलाई मात्रै काखी च्याप्नु हुन्छ भन्ने आरोप छ नि ? – मेरो आस्था कांग्रेसमा छ । म कांग्रेसलाई समर्थन गर्छु । तर, व्यवसायमा कांग्रेस वा फलानो भनेर भेदभाव कहिल्यै गरेको छैन र गर्ने पनि छैन । साझा संस्थाको उम्मेदवार बन्ने अनि एउटा समूहलाई मात्रै बोकेर हिँड्न कसैलाई पनि सुहाउँदैन । आफ्नो व्यावसायिक मर्यादा कायम राख्नु पर्छ । मेरो र मेरो समूहको उम्मेदवारी समग्र व्यवसायीहरूको हकहितका लागि हो सबैले यसरी बुझ्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित