ब्रिटिस कलेजको लापरवाहीले विद्यार्थीको मृत्यु ,कलेजमाथि छानविनको माग

british

 काठमाडौं। काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजको लापरवाहीले आफ्नो छोराको ज्यान गएको भन्दै एक अभिभावकले कलेज र त्यसका संचालकमाथि छानविनको माग गरेका छन् ।  द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत  गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको कलेजले भन्दै आएको छ। 

 सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोरा गौरवको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने वताएका छन् । श्रेष्ठले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने वताए ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित द ब्रिटिस कलेजका एक जना शिक्षकले सुनाएको वताए ।

उनले भने – ‘मेरो छोरा कलेजको टुरमा दुबई गएको थियो । तर, दुबईमै निधन भएको दुःखद खबर कलेजका एक जना शिक्षकले फोन गरेर सुनाउनुभएको हो ।’ छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरेको स्पष्ट पारे ।

दुबईमा आफ्नो छोरा हराएको ८ घण्टापछि मात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजी गर्नु नै रहस्यमय भएको बताउँदै उनले भने– ‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घटना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’ उनले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई किन सहभागी गराइयो ? भन्दै प्रश्नसमेत गरे ।

आफूले छोराको शव नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको दुःखेसो पोख्दै श्रेष्ठले भने – ‘वास्ता त गरेन गरेन, उल्टै ममाथि अभद्र व्यवहार गर्यो । अपशब्द बोल्यो ।’
उनले कलेजकै लापरवाहीका कारण छोराले अनाहकमा ज्यान गुमाएको सम्बन्धमा प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी गरिसक्दा पनि प्रहरीबाट चित्तबुझ्दो पहल नभएको गुनासो गरे ।

भ्रमण दलमा सहभागी कलेजका शिक्षिका रिना श्रेष्ठ, नवीना महर्जन र छोरासँगै समुद्रमा पौडी खेल्न गएका उसका साथी निषेश सुवेदीको बयान नै फरक–फरक देखिएको उनले सुनाए । कलेजको जिम्मेवार व्यक्ति सिइओ नरेन्द्र कँडेल लण्डनमा रहेको सुनाउँदै श्रेष्ठले तुरुन्त काठमाडौं आएर कँडेलले आफूसँग सम्पर्क गर्नुपर्ने माग गरे ।

उक्त कलेजले अनावश्यक कमाउने उद्देश्यले विद्यार्थी विदेश लैजाने गरेको आरोप लगाउँदै उनले भने – ‘यसतर्फ राज्यले विशेष ध्यान पु¥याउनुपर्छ । कलेजले विद्यार्थीहरुसँग मोटो रकम असुलेर यसरी नै व्यापारीकरण गरिरहेको छ । यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस्।’

आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरबाही गरेको आरोप लगाउँदै उनले भने यो– ‘सुरुमा कलेजले छोराको शव पठाउँछु भन्यो, तर पछि कलेजले फोन गरेर शव वाहनको पैसासमेत मलाई तिर्न लगायो । पैसा तिर्नु ठूलो कुरा होइन, तर कलेजले अमानवीय व्यवहार देखायो ।' (नेपाल समाचारपत्र )

प्रतिक्रिया

सम्बन्धित