राजदूताबास काउन्सुलर अफिस होइन : राजदूत अधिकारी (भिडियो सहित)

dr, khaganath adhikari

  ३० नोभेम्बर १९६० मा थाइल्याण्डमा नेपाली राजदूताबास स्थापना भएसँगै नोपाल र थाइल्याण्डबीचको सम्बन्ध अझ प्रगाढ हुँदै आएको छ । द्विपक्षीय सम्बन्धहरूलाई दुई देशबीचको मित्रतापूर्ण, सुअवसर र समझदारीद्वारा चिन्हित गरिएको छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण नेपाल र थाइल्याण्डका बीचको सम्बन्ध झन प्रगाढ बनेको छ । भगवान बुद्धको जन्मस्थान लुम्बिनी थाई पर्यटकहरूको लागि नेपालमा सबैभन्दा इच्छित गन्तव्य स्थानहरु मध्ये एक हो । पछिल्लो समय थाई नागरिकहरुको रुची ट्रेकिङमा बढ्दै गएको बताउनुहुन्छ थाइल्याण्डका लागि नेपाली राजदूत डा. खगनाथ अधिकारी ।
काठमाडौं र बैङककबीच नियमित उडानहरू सञ्चालित हुँदा दुई देशबीच व्यापार र पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । नेपाल र थाइल्याण्ड बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रहरु हुन् । थाइ नागरिकहरुले नेपालीहरुमाथि एकदमै सहयोग र सद्भाव देखाउने गरेको राजदूत अधिकारी बताउनु हुन्छ । थाई सरकारले भगवान बुद्धको जन्मस्थान लुम्बिनीमा थाइल्याण्डको मन्दिरको निर्माण गरेको छ । यसले गर्दा पनि थाइ पर्यटकहरुको पहिलो रोजाई लुम्बिनी हुने गरेको छ । थाइल्याण्ड र नेपालबीच व्यापार, पर्यटन, लगानी र शिक्षामा द्विपक्षीय सहयोग रहँदै आएको छ ।
विगत ३० वर्षदेखि परराष्ट्र सेवामा सक्रिय डा अधिकारी यस अघि भारतका लागि कार्यवाहक राजदूत समेत भइसक्नु भएको थियो । २०७१ सालमा थाइल्याण्डका लागि नेपाली राजदूत बन्नुभएका डा. अधिकारीसँग थाइल्याण्ड र नेपाल बीचको आपसी सम्बन्ध, थाइल्याण्डमा रहेका नेपालीहरुको अवस्था, पर्यटन प्रवद्र्धन र उहाँले गर्नुभएको मुख्य कामहरुका बारेमा www.mynewsnepal.com का लागि सुन्दर विष्टले नेपाली राजदूताबास थाइल्याण्ड पुगेर गरेको कुराकानी :
डा.खगनाथ अधिकारी – थाइल्याण्डका लागि नेपाली राजदूत

० तपाई परराष्ट्र सेवामा कसरी प्रवेश गर्नुभयो ?
– पाल्पाको रिब्दीकोटा गाउँपालिकामा जन्मिएको म विगत ३० वर्षदेखि परराष्ट्र सेवामा सक्रिय छु । सेवामा आउनु पूर्व मैले परराष्ट्र सेवामा प्रवेश गर्ने कुनै पनि योजना बनाएको थिइन् । तर, लोकसेवाको परिक्षामा पास भएसँगै परराष्ट्र सेवामा लाग्ने अवसर जुट्यो । अहिलेसम्म त्यसैलाई निरन्तरता दिइरहेको छु ।

० थाइल्याण्डमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ?
– थाइल्याण्डमा दुई प्रकारका नेपालीहरु छन् । एक प्रकारका नेपाली जसले नेपाली नागरिकता र पासपोर्ट लिएर बसेका छन् । उनीहरुको संख्या एकदमै कम छ । जसमा विद्यार्थी र अन्य नेपालीहरु पर्दछन् । अर्का नेपालीहरुमा चाहिं नेपाली मूलका नागरिक पर्छन्, जसको नेपाली नागरिकता छैन । तर, उहाँहरु नेपाललाई एकदमै माया गर्नुहुन्छ । उहाँहरु नेपालीे कला र संस्कृतिको जगेर्नाप्रति पनि एकदमै सचेत हुनुहुन्छ । नेपालमा मनाइने सबैजसो चाडपर्वहरु थाइल्याण्डमा पनि हर्सोल्लासका साथ मनाउनु हुन्छ । आर्थिक रुपमा पनि उहाँहरु एकदमै सवल हुनुहुन्छ । त्यस्ता नेपालीको संख्या भने झण्डै ८० हजार रहेको अनुमान गर्न सकिन्छ ।

० रोजगारीका लागि पनि नेपालीहरु थाइल्याण्ड आउनु भएको छ ?
– अन्य देशको जस्तो नेपाल सरकारबाट श्रम स्वीकृती लिएर रोजगारीका लागि नेपालीहरु थाइल्याण्ड आएको अवस्था छैन । रोजगारीका लागि मैले थाइल्याण्डका श्रममन्त्रीसँग प्रस्ताव राखेको पनि छु । थाइ सरकारले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ । यद्यपी अहिलेसम्म त्यसको निर्णय भने हुन सकेको छैन । थाइल्याण्डसँग श्रम सम्झौता भएको अवस्थामा नेपालले राम्रो श्रम बजार पाउने पक्का छ ।

० तपार्इंको कार्यकालमा नेपाल–थाइल्याण्डबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन के–कस्ता पहल भएका छन् ?
– सामान्य रुपमा जसरी राजदूताबासलाई बुझिन्छ, त्यसको अर्थ त्यो भन्दा अलि फरक हुन्छ । राजदूताबास भनेको साधरण खेल खेलेजस्तो विषय होइन । यो भनेको धैर्यतापूर्वक योजनावद्ध तरिकाले लाग्नुपर्ने क्षेत्र हो । तर, हाम्रो देशमा यसको बारेमा सोचाई अलि गलत छ । राजदूताबासको काम विदेशमा रहेका आफ्ना देशका नागरिकहरुलाई सेवा र सुविधा प्रदान गर्ने मात्रै होइन । राजदूताबास भनेको काउन्सुलर अफिस होइन । राजदूत भनेको कुनै देशको प्रतिनिधित्व गरेर आउने व्यक्ति हो । उसको प्रमुख दायित्व भनेको आफू गएको देशसँगको सम्बन्ध सुदृढ बनाउनु हो ।

यसका साथसाथै राजदूताबासले विदेशमा हुने राजनीतिक, अर्थिक, सामाजिक घटनाहरुको अवलोक र रिपोटिङ गर्ने, नेपाल सरकारको नीति तथा कार्यक्रमहरु यहाँका सरकारी निकायहरुलाई व्याख्या विश्लेषण गर्नेलगायतका कामहरु गर्नुपर्ने हुन्छ । मेरो पहिलो प्राथमिकता भनेको नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई अझै सुदृढ बनाउनु हो । पर्यटन प्रवद्र्धनमा पनि राजदूताबासले काम गरिरहेको छ । पर्यटकहरु पनि पहिले भन्दा बढि नै अउने जाने गरिरहनु भएको अवस्था छ । लगानी प्रवद्र्धनका लागि पनि हामीले नेपाली व्यवसायीहरुलाई यहाँ नै बोलाएर यहाँका व्यवसायीहरुसँग छलफल गराइरहेका छौं । दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउनका लागि मेरो पहिलो प्राथमिकता रहँदै आएको छ । त्यसैगरी आर्थिक पक्ष र यहाँ रहेका नेपालीहरुलाई आवश्यक सेवा र सुविधा प्रदान गर्ने कुरालाई पनि महत्व दिएको छु । हामीले यहि बसेर थाइल्याण्ड बाहेक ब्रुनाई, क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरलाई पनि हेर्नुपर्ने भएकाले हाम्रो व्यस्तता अलि बढि नै हुन्छ ।

० यहाँ थाइ नागरिकहरुले नेपाली नागरिक हरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
– यसमा म लामो प्रसंग जोड्न चाहन्न । नेपालमा २०७२ सालको भूकम्प गएपछिको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । त्यसबेला थाइल्याण्डका नागरिकले नेपालप्रति देखाएको सदासयताले हाम्रो देशप्रति उनीहरुको माया र सद्भाव रहेछ भन्ने प्रष्ट देखियो । त्यसबेला पूरै थाइल्याण्ड नेपालमय भएको थियो । उनीहरुले ‘हेल्प नेपाल’, ‘नेपाल डन्ट वरी, वी आर वीथ यू’ जस्ता नारासहित नेपालीहरुलाई साथ दिइरहेका थिए । त्यसबेला हामीले राजदूताबासमार्फत नै ४० करोड रुपैयाँ उठाएर पठाएका थियौं । थाइ नागरिकहरुले नेपाललाई माया गर्नुको मुख्य कारण भनेको बुद्ध र बुद्धिजम नै हो । नेपाल बुद्धको जन्मभूमी भएकै कारणले गर्दा थाइ नागरिकहरुले नेपाललाई माया गर्छन् ।

० नेपाल भ्रमण गर्ने थाइ पर्यटकको संख्या बृद्धि गर्नका लागि कस्तो पहल गरिरहनु भएको छ ?
– हाम्रो प्रमुख उद्देश्य भनेको थाइल्याण्डबाट पर्यटकहरु सिधै नेपालमा नै जाउन भन्ने हो । यद्यपी अहिलेको परिपेक्षमा हेर्ने हो भने अधिकांश थाइ पर्यटक भारत हुँदै नेपाल जाने गरेका छन् । जसले गर्दा नेपालले सोचेजस्तो आर्थिक लाभ लिन सकिरहेको छैन । तर, पछिल्लो समय थाइ नागरिकहरुको रुची ट्रेकिङप्रति बढेको पाइन्छ । ३ जनाले त सगरमाथाको सफल आरोहण गरिसकेका छन् । त्यसकारण हामीले ट्रेकिङलाई नै फोकस गरेर विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छौं । तर, राजधानी काठमाडौं नै हिलो र धुलो मुक्त हुन नसक्दा पर्यटकहरुको संख्या घट्दै गएको छ । पर्यटन प्रवद्धन गर्नका लागि बुद्धको जन्मस्थल र सगरमाथाको देश भनेर मात्रै पुग्दैन । वातवरण पनि स्वस्च्छ बनाउन जरुरी छ । राजधानीलाई अहिलेको जस्तै अवस्थामा छाड्ने हो भने थाइ मात्रै होइन अन्य पर्यटकहरुको संख्या बृद्धि गर्न पनि कठिन छ ।

० थाइ उद्यमीलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न दूतावासले के कस्तो कार्य गरिरहेको छ ?
– राजनीतिक अस्थिरताका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्न एकदमै कठिन थियो । तर, अहिले दुई तिहाई बहुमतको स्थिर सरकार गठन भएसँगै हामीले थाइ उद्यमीहरुलाई नेपालमा लगानीका लागि आस्वस्थ पार्ने प्रयास गरिरहेका छौं । नेपालमा लगानी गर्ने अवसरहरुका बारेमा जानकारी गराउनका लागि हामीले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छौं । लगानी बोर्डको सहकार्यमा नेपालका प्रतिनिधिलाई यहाँ उपस्थित गराई विभिन्न कार्यक्रमहरुको आयोजना गरी लगानीका अवसरहरुका बारेमा जानकारी गराउँदै आएका छौं । त्यस्ता कार्यक्रमहरुमा लगानी बोर्डले तयार गरेको प्रोजेक्ट नै हामीले थाई उद्यमीहरुलाई उपलब्ध गराउँदै आएका छौं । राजदूताबासले थाइ चेम्बर अफ कमश–बोर्ड अफ थाइ इन्भेष्टमेन्ट र नेपालका उद्यमीहरुलाई एकै स्थानमा राखेर छलफल गर्ने वातावरण मिलाउँदै आएको छ । त्यसैगरी पर्यटक प्रवद्र्धनका लागि यता र उताका ट्राभल एजेन्सीहरुलाई पनि बेला–बेलामा छलफल गराइरहेका छौं ।

० नेपाली चिया, औषधीजन्य जडिबुटी र हस्तकलाका सामाग्री थाइल्याण्ड निर्यात गर्न सक्ने सम्भावना कत्तिको छ ?
– अहिलेको अवस्थामा नेपालबाट थाइल्याण्डमा सबैभन्दा बढि आयात हुने बस्तुमा हस्तकलाका सामाग्रिहरु नै पर्दछन् । यहाँ आयोजना हुने विभिन्न व्यापार मेलाहरुमा नेपालबाट नै प्रतिनिधिहरु आएर हस्तकलाका सामाग्री पस्मिनालगायतको स्टल नै राखेर व्यवसाय बृद्धि गरिरहनु भएको छ । थाइल्याण्डमा चिया र कफिको सम्भावना भने त्यति छैन । एकातिर थाइ नागरिकहरुले चिया कफि नै कम खाने गरेको मैले पाएको छु भने अर्कोतिर चिया कफिमा भन्सार मूल्य एकदमै बढि हुँदा नेपालबाट निर्यात हुने संभावना कम छ । नेपालबाट औषधीजन्य जडिबुटि भने भित्रिरहेका नै छन् ।

० नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउँदै छ । त्यसका लागि थाइल्याण्ड राजदूताबाटले कस्तो पहल भइरहेको छ ?
– नेपाल सरकारले पर्यटन बोर्डसँगको सहकार्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरि तयार पारेको लोगो सार्वजनिक गरेसँगै हामीले यहाँ त्यसको प्रचार–प्रसार सुरु गरिसकेका छौं । पर्यटन प्रवद्र्धनका लागि २०२० लाई नै कुर्नुपर्छ जस्तो लाग्दैन मलाई । तथापी हामीले पर्यटन बोर्डसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु भने गर्दै आइरहेका छौं । नेपालले अहिलेसम्म प्राकृतिक सुन्दरतालाई नै बेचिरहेको छ । तरपनि त्यसको सुधारप्रति नेपाल सरकारले खासै ध्यान दिन सकेको छैन । मैले अघि पनि भने नेपालमा पर्यटन प्रवद्र्धन गर्न हामीले यहाँ बसेर जति पनि काम गर्छौं त्यो भन्दा पनि महत्वपूर्ण कुरा भनेको नेपालको वातावरण स्वच्छ बनाउन सक्नु पर्छ, कम्तिमा राजधानीलाई धुलो, धुवाँ र हिलोमुक्त बनाउन सक्नुपर्छ । सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी पछिल्लो समय विवादित बनेको ‘फेक रेस्यु’ जस्ता घटना जसले पर्यटकहरुलाई नेपाल आउन निरुत्साहित गर्छ, त्यस्ता घटनालाई नेपाल सरकारले नियन्त्रण गर्न नसकेको खण्डमा विदेशमा बसेर पर्यटन प्रवद्र्धन गर्न सकिंदैन । तर, ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन हामी अहिलेदेखि नै कटिबद्ध भएर लागेका छौं ।

० थाइल्याण्डको जेलमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ?
– थाइल्याण्डमा गैरकानुनी काम गरेको अभियोगमा जेल परेका नेपालीको संख्या एकदमै न्यून छ । जेलमा रहेका अधिकांश नेपालीहरु चाहिं नेपाली मुलका विदेशी नागरिकहरु हुन् । थाइल्याण्डको जेलमा परेका नेपालीको संख्या ४१ जना रहेको छ । उनीहरु सबै लागूऔषध मुद्दामा जेल परेका छन् । कतिपयले गलत नगर्दा नगर्दै पनि जेल परेको कुरा बताइरहनु भएको छ । उहाँहरुको सवालमा हामीले दूताबासमार्फत पहल गरिरहेका छौं । आम माफिका लागि पनि पहल भइरहेको छ । त्यस्ता व्यक्तिहरुलाई हामीले जेलबाट छुटाएर सिधै स्वदेश फर्काउने व्यवस्था पनि मिलाएका छौं । यहाँको मुख्य समस्या भनेको भाषा नै हो । भाषा नबुझ्दाकै कारणले कोहि निर्दोष नेपालीले जेल बस्न नपरोस् भन्ने कुरामा हामी एकदम सचेत छौं । गैर कानुनी कार्यमा संलग्न भएका जतिपनि नेपालीहरु जेलमा छन्, उनीहरुको उद्धारका लागि पनि दूतावासले पहल गरिरहेको छ ।

० थाइल्याण्डका लागि नेपाली राजदूतको हैसियतमा आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– मेरो कार्यकालको कुरा गर्दा म यहाँ दुईवटा विषयलाई जोड्न चाहन्छु । एउटा औपचारिकता जुन अरुलाई देखाउन र बुझाउनका लागि भनिन्छ भने अर्को आत्म मूल्यांकन नै हो । मैले यहाँ आएर के कति काम गरे भनेर आफैले आफैलाई मूल्यांकन गर्ने गरेको छु । काम गर्ने शिलशिलामा जहाँ पनि चुनौतीहरु त आउँछन् नै । तर, मैले त्यस्ता चुनौतीहरुको सामना गर्दै काम गरिरहेको छु र आफ्नो कामप्रति सन्तुष्टि पनि छु । यद्यपी मैले चाहेको सबै काम गर्न सकें भन्न खोजेको चाहिं होइन । अझै पनि गर्नुपर्ने धेरै काम बाँकी नै छन् । मैले जे गर्न सकिन ति मेरा कारणले नभएका होइनन् । त्यसैले पनि आफ्नो कामप्रति सन्तुष्ट नै छु ।

अर्को महत्वपूर्ण कुरा भनेको मैले आफ्नो कार्यकालमा दुई देशबीचको द्धैत्य सम्बन्धलाई अझै सुदृढ गर्ने, नेपालको इज्जत र मर्यादा बढाउने, नेपालीहरुलाई सेवा र सुविधा पु¥याउने, यहाँका संघ संस्थाहरुसँग सम्बन्ध बढाउने र आर्थिक पक्षमा सुधार गर्ने काममा प्रयास गरे र सफल पनि भएको छु । व्यक्तिगत रुपमा म सन्तुष्ट हुने अर्को एउटा आधार भनेको यहाँ निर्माण गरिएको राजदूताबास भवन नै हो । थाइल्याण्डमा सन १९६९ नेपाली राजदूताबास स्थापना भएयता दुई वर्ष अघिसम्म पनि हामी भाडाकै भवनबाट कार्य सम्पादन गर्दै आएका थियौं । तर, मैले २०१६ यहाँ दूताबासका लागि चार रोपनी क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न भवन खरिद गरें । जसले गर्दा काम गर्न अहिले धेरै नै सहज भएको छ । यो कुराले मलाई गौरवको महसुस गराउँछ ।

प्रतिक्रिया

सम्बन्धित