कांग्रेस सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सुरु, शेखरसँग छुट्टै भेट

nc

   हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तीन दिने भेला आजबाट हेटौंडामा सुरु भएको छ । भेलामा ७७ वटै जिल्लाका सभापतिहरू आइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टीको विधान, संगठनको संरचना र प्रतिपक्षी भुमिकाबारे सभापतिको भेलामा छलफल हुने प्रवक्ता शर्माले बताए। भेलाको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री शसांक कोइरालाले छलफलका विषयबारे जानकारी गराएका थिए। विधान परिमार्जन गरि संविधान अनुकुल बनाउने, सातै प्रदेशमा संगठनात्मक संरचना निर्माण गर्ने लगायतका विषयलाई केन्द्रमा राखेर विधानबारे सभापतिहरुको भेलामा छलफल हुने छ।

सभापति शेरबहादुर देउवामाथि विभिन्न समयमा विधान मिचेर निर्णय गरेको आरोप लाग्दै आएको छ। चुनावमा भएको हारको समिक्षाका क्रममा शीघ्र महाधिवेशनको माग समेत केहि नेताहरुले उठाएका थिए। अहिले पनि शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल लगायत यूवा नेताहरुले शीघ्र महाधिवेशन गरेर पार्टीलाई क्रियाशील बनाउनुपर्ने बताउँदै आएका छन्।

देउवापक्षका नेताहरूले भने महासमितिबाट विधान संसोधन गरेर संविधान अनुसारको संरचना निर्माण गर्ने, एकता मार्फत आएको गच्छदार समुहलाई उचित स्थान दिनुपर्ने विषय उठाउँदै आएका छन्। जिल्ला सभापतिको भेलामा पनि यीनै विषयमा छलफल हुने छ।

सभापति देउवासँग असन्तुष्टहरुको शेखर कोइरालासँग छुट्टै भेट
जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाअघि कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालासँग करिब चार दर्जन जिल्ला सभापतिहरूले आन्तरिक छलफल गरेका छन्। भेलामा प्रस्तुत गरिने विषयमा रणनीति तय गर्न छुट्टै सभापतिहरु कोइराला बसेको होटलमा पुगेका थिए। सभापति शेरबहादुर देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरुसँग कोइरालाले भेटेका हुन्।

टिकट वितरणको क्रममा जिल्ला सभापतिहरुको अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको भन्दै जिल्ला सभापतिहरु असन्तुष्ट छन्। विधान संशोधनका लागि सुझाव दिन बोलाइएको भेलामा सभापतिको कार्यक्षमतामाथि जिल्ला उनीहरुले भेलामा प्रश्न उठाउने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित