लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधी सभाको उम्मेदवार बनेका छन् । उनलाई नेपाली कांग्रेसको समर्थन छ । राई उम्मेदवार बनेपछि कांग्रेसले उम्मेदवारी दिएको छैन । यसअघि निरन्तर एमालेले जित्दै आएको यो क्षेत्रलाई राईले कब्जा जमाउने गरेर आक्रमक शैलीमा प्रचार सुरु गरेका छन् । उनी यो क्षेत्रका जनताले आफूलाई जिताउनेमा ढुक्क छन् । यसै सन्दर्भमा वरिष्ठ नेता राईसँग mynewsnepal.com का लागि गरिएकाे कुराकानी :

अशोक राई, सुनसरी क्षेत्र नं. १, उम्मेदवार, संघीय समाजवादी फोरम नेपाल

० तपाई पहिला खोटाङबाट निर्वाचन लड्नु भएको अहिले किन सुनसरीलाई रोज्नु भयो ? – मतदातहरूको अत्यन्तै सकारात्मक प्रतिक्रिया मैले पाएको छु । नेताहरूले विभिन्न निर्वाचन क्षेत्र रोजेर निर्वाचन लड्ने सुन्दर परम्परा हाम्रो देशमा पनि कायम छ । एउटै निर्वाचन क्षेत्रमा सधै लड्नु पर्छ भन्नु त्यो लोकतन्त्रको परम्परालाई नबुझ्नु जस्तो हुन्छ । बिकल्प चाहियो २६ वर्षसम्म हामीले एउटा पार्टीलाई प्रतिनिधित्व गर्ने अवसर दियौं । तर, हामीले केही पाएनौं । हामीलाई सक्षम, योग्य, ईमान्दार नेता चाहियो भन्ने माग आएकोले मैले उम्मेदवारी दिएको हुँ । यो निर्वाचन क्षेत्रप्रति अत्यन्तै सकारात्मक चिन्ता राख्ने धेरै भएको तथा लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाउने सहमति भएकाले म यहाँ आएको छु । म मतादताहरूको अपेक्षालाई इमान्दारितासँग जिम्मेवारी बहन गर्छु ।

० तपाईलाई सुनसरी १ मा आउनुपर्ने आवश्यकता कि बाध्यता ? – मेरो आवश्यकता हो । मेरो रोजाइमा आएको हुँ । जनताले आउनु प¥यो भनेपछि आएको हुँ ।

० वामपन्थी गठबन्धन यो क्षेत्रमा गढ हो भन्छ नि ? – मलाई कसैको कुनै डर छैन । मतदाताहरूको साथ मलाई छ । लोकतान्त्रिक गठबन्धनको साथ छ । राजनीतिमा कसैको डर हुँदैन । जनताको गतिशील चाहनालाई बुझ्न सक्नु पर्छ । यो क्षेत्र कसैको गढ होइन । गढ भनिएका ठाउँहरू टुटेका छन् । यो ठाउँमा एमालेले निरन्तर विजयी हासिल गरेको थियो । अब उसको विजय यात्रा तोडिन्छ ।

० एमालेका उम्मेदवारले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने आधार समाप्त भएको हो ? – २६ वर्षमा पनि यो क्षेत्रका जनताले अपेक्षा गरेका कुनै पनि काम एमालेले पूरा गर्न सकेन । पाको कम्युनिष्ट नेतासँग भोट माग्न जाँदा मलाई भोट हाल्ने आश्वासन दिनुभएको छ । एमालेले कुनै पनि काम गरेन । धरान भन्ने अस्तित्व हरायो । त्यसको अस्तित्व फेरि ल्याउन चाहन्छु । धरानबाट पनि प्रतिनिधित्व छ भन्ने कुरा नै भएन भनेर मतदाताहरूले भनेका छन् । नेपालको मानचित्रबाट धरानलाई लोप गराउने काम एमालेले गरेको गुनासो आएको छ । एमालेका नेताहरू नै मलाई जिताउन सक्रिय भएर लाग्छु भनेका छन् ।

० धरान एमालेको गढ भएकाले कसैले भत्काउन सक्दैनन् भनेका छन् नि ? – चुनावको बेला एमालेको गढ अशोक राईले भत्काउन सक्नु हुन्छ भने त वाकओभर गरेर मलाई दिए भइहाल्यो नि । यो गढ हाम्रो हो हाम्रो दवाव कायम निरन्तर रहन्छ भन्ने कर्तव्य उहाँहरूको हो । तर, जनताको ढुकढुकी मैले छामेको छु । म पनि यहाँ ख्यालठट्टा गर्न आएको होइन ।

० कम्युनिष्टहरूले जसरी चुनाव जितेका थिए, यसपटक चुनाव जित्दैनन् ? – एमालेको नाडी छामेको छु । र, जसलाई उहाँहरूले आफ्नो गढ भन्नुभएको छ त्यसलाई गढ निर्माण गर्ने एक कालीगढ म हुँ । मैले एमाले छाडिदिएँ । एमालेले गलत बाटो अपनायो । अहिले नेपालमा ध्रुवीकरणमा जानुपर्ने आवश्यकता होइन । सहमतिमा जानुपर्ने आवश्यकता हो । एमालेका नेताहरु पहिलो चरणको निर्वाचनमा प्रथम स्थान हासिल गरेर खाकखाक खुकखुक गर्दै हुनुहुन्थ्यो । तिखो तिखो सिङले भित्ता उधिन्दै हुनुहुन्थ्यो । तेस्रो चरणको चुनावमा गएर प्रदेश नं. २ मा चुनाव लडेपछि चेतनशील मधेसी जनताले एमालेको तिखो सिङ भाँचिदिए । त्यो तिखो सिङ भाँच्चिएको पीडा हरण गर्नका लागि उहाँहरूले ६०–४० को फर्मुला अगाडि ल्याउनुभयो । चुनाव लड्न चाहने एमालेका नेताहरूलाई त्यो ४० प्रतिशतका कारण अवसर खण्डित गरिदिनुभयो । अधिकार हरण गरिदिनुभयो । माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने बहानामा मुलुकको राजनीतिलाई ध्रुवीकरण गर्नुभयो । उहाँहरूले हामीलाई दुईतिहाई चाहियो भन्नुभएको छ । संविधान संशोधन गर्नुछ भन्नुभएको छ । संविधान संशोधन गर्न आवश्यक थियो भने संसदमा संविधान संशोधनसम्बन्धी प्रस्ताव अगाडि सारेको बेला किन असफल गरेको ? त्यो संशोधनको प्रस्तावमा सबैको सहमति थियो नि ।

० केपी ओलीले त्यो संविधान संशोधन प्रस्ताव राष्ट्रघाति, जनघाति, जनहित विपरित थियो भन्नु भएको होइन ? – अन्तरिम संविधान जारी गर्दा त्यही प्रस्ताव स्वीकार गर्ने । संविधानसभाभित्र आफैले हस्ताक्षर गरेर त्यही प्रस्ताव अगाडि लाने, त्यो बाटोबाट राष्ट्रवादी हुने, एमालेका अध्यक्ष केपी ओलीजीले हस्ताक्षर गरेर त्यही प्रस्ताव अगाडि ल्याउन राष्ट्रवादी हुने, त्यो प्रस्ताव शेरबहादुर देउवाजीले मतदानमा ल्याउँदा राष्ट्रघाति हुने ? यही दोहोरो चरित्रले गर्दा नेकपा एमालेलाई पनि घाटा भइराखेको छ । मुलुकको राष्ट्रिय राजनीतिलाई पनि अत्यन्त गलतबाटो तर्फ डो¥याउन थालेको छ । र, नेकपा एमालेका नेताहरूले अहिले जुन चिजलाई राष्ट्रवाद भन्नुभएको छ, म त्यहाँ राष्ट्रघात देख्दै छु । किनभने राष्ट्रिय एकतालाई सुदृढ नगर्ने कुनै विचार राष्ट्रवादी हुन सक्दैन । राष्ट्रिय एकतालाई कमजोर बनाउने विचार भनेको त्यो राष्ट्रघात हो । उहाँहरूको राष्ट्रवादलाई एकथरी नेताहरूले खोक्रो राष्ट्रवाद भन्छन् । खोक्रो राष्ट्रवाद भन्ने मध्येको एकजना प्रखर नेता कम्रेड प्रचण्ड पनि हो । अब प्रचण्डलाई उहाँहरूले लम्पसारवादी भन्नु हुन्थ्यो । उहाँहरूले नेकपा एमालेलाई खोक्रो राष्ट्रवादी भन्नु हुन्थ्यो । अब खोक्रो राष्ट्रवादी र लम्पसारवादी एक ठाउँमा हुनुहुन्छ अहिले । अब खोक्रो राष्ट्रवादी भनिएका नेता साथीहरूले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघाति भन्नु हुन्छ । त्यो राष्ट्रघाति संविधान संशोधनसम्बन्धी प्रस्ताव कम्रेड प्रचण्डले नै तयार गर्नुभएको हो । अब उहाँहरूले यो विषयलाई कसरी तालमेल गरेर मिलाउनु हुन्छ मैले बुझेको छैन । यो प्रश्नको जवाफ केपी ओलीलाई सोध्नुपर्ने हो । तर, जुन संविधान संशोधनको प्रस्ताव प्रचण्डजीले तयार पार्नुभएको थियो त्यो प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाजीले मतदानमा ल्याउनु भयो । त्यो प्रस्तावमा असन्तुष्ट पक्षहरू जसले संविधानको स्वीकार्यतालाई विस्तार गर्नुपर्छ र यसको स्वामित्वलाई सबै ग्रहण गर्न सक्ने बनाउनु पर्छ । यसमाथिको अपनत्वलाई विस्तार गर्नुपर्छ भनेका थिए । हामी त्यो संशोधनको पक्षमा मतदानमा थियौं । राष्ट्रिय सहमति निर्माणमा भाँजो हाल्ने । प्रस्तावलाई असफल बनाउने । अनि उहाँहरू के प्रयोजनका लागि दुई तिहाई माग्नु भएको छ ? उहाँहरूले प्रष्ट पार्नुपर्छ । नेपाली जनतासामु जवाफ दिनुपर्छ । नेकपा एमालेका नेताहरूको भाषणमा प्रभावित भएर नेपाली जनताहरूले मतदान गर्नु हुँदैन ।

० एमाले र माओवादीको गठबन्धनले कति सिट जित्ला ? – अहिले नै मैले अनुमानको भरमा के भनौं । उहाँहरूले बहुमत पाउने त चान्सै छैन । लोकतान्त्रिक गठबन्धन जो बनेको छ । लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्दछ । हाम्रो अपेक्षा छ । संविधानलाई अपनत्व विस्तार गर्नुपर्ने, यसको स्वामित्व स्वीकार्यतालाई बढाउनुपर्ने अबस्थामा यो लोकतान्त्रिक गठबन्धनलाई नै जनताले दुईतिहाई दिन्छन् ।

० लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ कि दुईतिहाई आउँछ ? – हामीले त दुईतिहाई मागेका छौं । बहुमत त बिलकुल अउँछु ।

० बहुमत आउने आधार के छ ? – बहुमत आउँछ । अशुभ नसोचौँ । सकारात्मक सोचौं । सकारात्मक परिणाम पनि आउँछ ।

० वामपन्थी गठबन्धनको बहुमत आउँदैन भन्ने तपाईको निष्कर्ष हो ? – बिल्कुल । कुनै शंका छैन ।

० केपी ओली र प्रचण्ड मिलिसकेपछि पनि बहुमत आउँदैन वामपन्थीहरूको ? – होइन उहाँहरू नमिल्दा पनि वामपन्थी हो । मिल्दा पनि उही वामपन्थी हो । वामपन्थीलाई कम्युनिष्ट पार्टीका अर्का नेताले दामपन्थी भनिसके । कसैले नामपन्थी भनिसके । उहाँहरू हिजो पनि वामपन्थी नै हुनुहुन्थ्यो । मिल्दैमा उहाँहरूमा नयाँ गुण त देखिँदैन । नयाँ चिन्तन पनि देखा परेको छैन । बरु उहाँहरूमा गञ्जागोल भएको छ ।

० त्यसो भए एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण पनि हुँदैन ? – उहाँहरूबीच तालमेल भएको देखिरहेको छैन । यस्तो अन्यौलताका बीच पार्टी एकीकरण हुन्छ भन्ने मलाई लाग्दैन । पार्टी एकीकरण हुँदैन । नेपाली जनताले कुहिरोको कागजस्तो राजनीति उहाँहरूले प्रस्तुत गर्नुभएको छ । त्यसको पक्षमा कसरी भोट हाल्नु होला र ?

० नेपालका कम्युनिष्टहरू एक हुन सक्छन् कि सक्दैनन् ? – आजसम्म त सकेका छैनन् । तथ्य यही हो ।

० केपी ओली र प्रचण्ड मिल्लान कि नमिल्लान ? – ‘मर्निङ शो द डे’ भनिन्छ । बिहानीले दिनको संकेत गर्छ । उहाँहरू मिल्ने कुनै संकेत देखिएको छैन । उहाँहरू आज पनि एक दर्जनभन्दा बढी समूहमै हुनुहुन्छ । एउटाले अर्कालाई आलोचना गरिरहनु भएको छ, खुट्टा तानिरहनु भएको छ, झगडा गरिरहनु भएको छ । कम्युनिष्ट पार्टी नै भन्नु हुन्छ । झण्डा, सिद्धान्त, दर्शन एउटै हो । मिल्न सकिरहनु भएको छैन । उहाँहरूलाई कसैले व्यवधान गरेको छैन । साइकोलोजी व्यरियरले उहाँहरूलाई काम गरिरहेको छ । ईगोको प्रश्नले काम गरिरहेको छ । यस्तो अवस्थामा कसरी मिल्नु होला र ? मलाई त लाग्दैन ।

० राजपा र संघीय फोरमबीच कुनै समस्या छ ? – कुनै समस्या छैन । हामी तालमेल गरेर निर्वाचनमा गएका छौ । हामीले बनाएको लोकतान्त्रिक गठबन्धनले राम्रो परिणाम दिन्छ । प्रदेश र केन्द्रीय संसदमा हामीबीच तालमेल जारी रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित