प्रजातन्त्र दिवस र प्रधानमन्त्रीको शुभकामना

1579062314oli_sir_1

काठमाडौं :१०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन लागि रहेको छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको शुभकामना

२००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । आज हामी मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाइरहेका छौं ।

जनताको त्यही संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर छौं । संविधानसभा मार्फत् जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै अघि बढिरहेका छौं । राजनीतिक संक्रमणकालको अन्त्यपछि हामी सुशासन र विकासको दिशामा अग्रसर छौं । आर्थात् प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमूख छ ।

आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा हामी अग्रसर छौं ।

हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्दैछौं ।

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु ।

Comments

Top