नेकपा केन्द्रिय समितिको बैठक सुरु, एजेण्डासँगै नौ बुँदे कार्यविधि तय

ncp-standing-cimmittee-1

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो । एजेण्डासँगै  नौ बुँदे कार्यविधिका आधारमा ६ दिन केन्द्रिय समिति बैठक सञ्चालन हुनेछ । केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् ।

त्यस्तै, अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठानिक र विधान संशोधन प्रस्ताव उपर समुहगत रुपमा मात्रै छलफल गरिने नेकपाको कार्यविधिमा उल्लेख छ । ती प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समुहगत रुपमा छलफल चलाइनेछ । त्यसैगरी माघ १७ र १८ गते समुह नेताहरुले आ–आफ्नो समुहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नुपर्नेछ । माघ १९ गते समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

नेकपा स्रोतका अनुसार बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुने छ ।

 

 

 

 

 

Comments

Top