अपराध र अपराधीसँग कठोर ढंगले प्रस्तुत हुन आईजीपीको निर्देशन

igp sarbendra

  काठमाडौं । प्रहरी महानिरीक्षक ((आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीले पूर्ण व्यवसायिकताका साथ जिम्मेवारी वहन गर्दै कार्य सम्पादन गरेमा नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने उल्लेख गरेका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित १४औं महानगरीय प्रहरी दिवस २०७६ मा बोल्दै आईजीपी खनालले सबै प्रहरी कर्मचारीहरुलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन समेत दिए ।

नेपाल प्रहरीले गर्नुपर्ने काम र जिम्मेवारीप्रति लगनशिल भई कार्य गरेमा कुनै पनि किसिमको घटना अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउँदै आईजीपी खनालले अपराध र अपराधीसँग कठोर ढंगले प्रस्तुत हुन निर्देशन दिए ।

अपराध नियन्त्रणका लागि प्रहरीलाई अहोरात्र खट्न निर्देशन दिंदै आईजीपी खनालले प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई समाजलाई भयरहित बनाउनु प्रहरीको महत्वपूर्ण कार्य रहेको समेत उल्लेख गरे ।

समारोहलाई सम्बोधन गर्दै आाईजीपी खनालले महानगरीय प्रहरी कार्यालयको आफ्नै विशिष्ट किसिमको जिम्मेवारी र महत्व रहेको चर्चा गर्दै प्राप्त अधिकार राम्रोसँग उपयोग गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा आईजीपी खनालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रही प्रहरी परिचालनतर्फ उत्कृष्ट कार्य गर्ने, समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनतर्फ उत्कृष्ट कार्य गर्ने, उत्कृष्ट अनुसन्धानकर्ता, प्राविधिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्राविधिक प्रहरी र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट ठहर भएका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

त्यस्तै आईजीपी खनालले अन्तर विद्यालय चित्रकला प्रतियोगितामा उत्कृष्ठ हुने छात्र÷छात्राहरुलाई नगद पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरेका थिए । उनले नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्र बिवश भट्टलाई अमर प्रहरी सन्तती छात्रवृत्ति प्रदान गरेका हुन् ।

sar

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न थप सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका पूर्व आयुक्तको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, प्रमुख जिल्ला अधिकारीहरुको तर्फबाट ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजको तर्फबाट प्रा.डा. बासुदेव त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफूहरु तत्पर रहेको बताएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रहरी वरिष्ठ उपरिक्षक श्याम ज्ञवालीले गरेका थिए ।

Comments

Top