होटलभित्रको बेञ्चमा बस्ने बित्तिकै विष्फोट

dhangadhi

 धनगढी । बिहीवार साँझ धनगढीमा भएको विष्फोटमा परी पाँचजना घाइते भएका छन्।  सहिदगेट नजिकैको मिलन होटलमा विष्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंह, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन्।

 प्रत्यक्षदर्शीका अनुसार राम सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो। प्रहरीका अनुसार राम सिंहले पिठ्युँमा झोला भिरेका थिए। उनी झोला सहित होटलभित्रको बेञ्चमा बस्ने बित्तिकै विष्फोट भएको थियो। राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता रहेको खुलेको छ ।

 दुबैजना सँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेको छ। म्यागजीनभित्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेकाले प्रहरी उपरीक्षक सुदिप गिरीले बताए।

 प्रदेशको राजधानीमै भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, सशस्त्र प्रहरी उपरीक्षक विष्णुदत्त भट्ट, प्रहरी उपरीक्ष सुदीप गिरी सहितका सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए।

Comments

Top