आगामी वर्ष सम्पन्न गर्ने गरी मेलम्चीलाई ७ अर्ब ३९ करोड बजेट बिनियोजन

melamchi

  काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर पनि अवरुद्ध छ । तीन दशकदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा पुगेकै बेला इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेन्न भागेपछि आयोजना लथालिंग जस्तै छ ।

तर, सरकारले आयोजना पूरा गर्नका लागि केही दिन अघि मात्रै नयाँ प्रक्रिया थालनी गरेको जनाइसकेको छ । झण्डै एक दर्जन पटक राजधानीबासीलाई खानेपानी खुवाउने भाका सार्दै आएको सरकारले आगामी वर्ष भने आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सरकारले आयोजनाको काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गर्दै मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरिएको जानकारी गराएका हुन् ।

रकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ। केही दिन अगाडि मात्रै सरकारले नयाँ प्रक्रियाबाट बाँकी रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको छ। तर, काम थलानीका लागि टेन्डर प्रक्रिया अझै सुरु भएको छैन।

हुनत वर्तमान सरकारले नै आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। तर, काम अन्तिमचरणमा पुगेसँगै निर्माण सीएमसी र खाने पानी मन्त्रालय बीचको विवादले गर्दा मेलम्चीको पानी यही आर्थिक वर्षमा प्रयोग गर्न पाउने उपत्यकाबासी आशा निराशामा बदलिएको छ ।

Comments

Top