७ करोड ६७ लाख नक्कली भारुसहित पक्राउ परेका ६ जना सार्वजनिक

ansarisar

 काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाईछिपाई ल्याएको भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजार सहित पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

 उनीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमार्फत आज दिउसो सार्वजनिक गरिएको हो । 

 पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर रहेका छन् ।

 नक्कली भारतीय रुपैयाँ लिन पुगेका ललितपुर उपमहानगरपालिका-१३ बस्ने युनिस अन्सारी, रौतहट रमौली बैरिया नगरपालिका-१ बस्ने सुयल खान र गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका-५ बालकोट बस्ने सुदन रानाभाटलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

 कतार एयरको फ्लाइट नम्बर क्यु आर ६४४ द्वारा काठमाडौं आगमन भएका पाकिस्तानी  नागरिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार एरियामा जाँच गर्ने क्रममा लगेजभित्र लुकाईछिपाई ल्याएको उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले  जानकारी दिए ।

 अन्सारीले नक्कली भारतीय नोटको कारोबार गर्ने गरेको प्रहरीसमक्ष स्वीकार गरेको पनि डिआइजी क्षेत्रीले बताए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 दुई वटा व्रिफकेशबाट जाली नोट बरामद भएको प्रहरीले बताएको छ । नक्कली भारु लिन पुग्दा अन्सारीको समुह पक्राउ परेको हो । अन्सारी यसअघि पनि नक्कली भारु प्रकरणमा पटक पटक पक्राउ परी छुटेका हुन।

 ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। केन्द्रिय कारागारमा सजाय काटिरहेका बेला उनीमाथि भारतीय गुप्तचर निकाय निकट मानिने भारतीय नागरिक मनजित सिंहले गोली समेत प्रहार गरेका थिए ।

 तर, अन्सारी सकुशल रहेका थिए। जेलबाट छुटेपछि अन्सारी जाली नोटको धन्दामा सक्रिय रहेको यो घटनाबाट खुलेको छ। अन्सारी अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट रहेको भन्दै भारतीय  गुप्तचर निकायले आरोप लगाउँदै आएको छ । नेपालका क्यासिनो,हाउजिङदेखी नेटवर्किङको व्यबसायमा दाउदको लगानी रहेको भारतीय पक्षले आरोप लगाउँदै आएको छ। 

Comments

Top