सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन : प्रधानमन्त्री ओली

pm oli_1

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । प्रहरी दलाली वा दमन गर्नका लागि नभई कर्तव्य पालनाका लागि रहेको बताउँदै उनले प्रहरी अधिकारीहरुलाई सरुवा बढुवामा पनि कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीद्वारा मंगलबार प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन समेत निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने दावी गर्दै उनले भने–‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि अनावश्यक लाञ्छना लगाएको बताए । उनले भने–‘आफूलाई सेलेब्रिटी देखाउन खोज्नेले अनुचित खालका टिप्पणी गरे । त्यस्ता व्यक्तिहरूले राष्ट्रिपतिलाई छिमेकी पिरेको आरोपसमेत लगाए । राष्ट्रपतिले लखेट्न खोजेसमेत भनियो, यो सही होइन ।’

राष्ट्रपतिको कारणले नभई पर्याप्त स्थान नभएकाले तालिम केन्द्र पनौती स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । कार्यक्रममा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले ‘बादल’ल प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप नभएको भन्दै प्रहरीलाई चनाखो भएर कार्यसम्पादन गर्न आग्रह गरे । उनले भने–‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ । यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’

Comments

Top