अन्यौलकाबीच राष्ट्रपतिको शपथ ४ बजे

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण आज अपरान्ह ४ बजे हुँदैछ । उनले दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदै छिन् । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजे तय भएको जानकारी दिएका छन् ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने परम्परा छ । तर, वर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादको घेरामा परेका बेलामा त्यसको विकल्प के हुनसक्छ भनी राष्ट्रपति कार्यालयबाटनै खोजी भइरहेको स्रोत बताउँछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति बनेकी विद्यालाई एमाले र माओवादीले नै नरुचाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ खुवाउनेमा अझै शंका छ ।

सर्वोच्चमा न्यायाधीशहरु मंगलबार बेन्चमा आठ न्यायाधीश उपस्थित नहुनु र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जवरा बाहिर बस्नुले प्रधानन्यायाधीश संकटमा परेको प्रष्ट हुन्छ । प्रधानन्यायाधीश पराजुलीलाई पनि खुलेर अगाडि आउन सकस भएको छ ।

तर, राष्ट्रपति निवास स्रोतका अनुसार सपथ अघि नै प्रधानन्यायाधीशले निकास नदिएको खण्डामा राष्ट्रपति भण्डारी आफैले सपथग्रहणपछि प्रधानन्यायाधीश पराजुलीलाई अलग्गै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुनु सल्लाह दिने तयारीमा छिन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई सपथ दिलाउनेबारेमा विभिन्न प्रक्रिया चलिरहेको छ । कसले सपथ गराउने भन्ने अन्योल रहे पनि उनको सपथ समारोहका लागि निम्तो भने उच्च पदस्थ अधिकारीदेखि कुटनीतिक नियोगका अधिकारीसम्मलाई भइसकेको छ ।

Comments

Top