के भयो प्रधानमन्त्रीको कांग्रेससँगको छलफल ?

mao-congress-meeting-baluwatar-650x366काठमाडौं : संविधान संशोधनका विषयमा एमालेसँग भएको वार्ता विफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको परामर्शमा संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । एमालेले संशोधन प्रस्तावमा अस्वीकार गर्ने बताएपछि प्रधानमन्त्री दाहालले कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहाल केही मन्त्री र राज्यमन्त्रीहरू थप गरेर मन्त्रिपरिषद विस्तारको तयारीमालागेका छन् । प्रधानमन्त्री दाहालसँगको छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र भौतिक योजना मन्त्री रमेश लेखकको सहभागिता रहेको थियो । यसअघि प्रधानमन्त्री दाहालले बिहीबार साँझ प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए ।

Comments

Top